सन्दीपलाई यूएई लैजान क्यानको पहल, राखेपलाई गर्‍यो पत्राचार

काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर सन्दीप लामिछानेलाई नेपाली टीमको यूएई भ्रमणमा समावेश गर्न नेपाल क्रिकेट संघ (क्यान) ले पहल थालेको छ । नेपाली खेलकुदको सर्वोच्च निकायका रूपमा रहेको राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानले प्रक्रिया अघि बढाएको हो ।

क्यानका म्यानेजर विनोद दासले यूएईमा हुने श्रृंखलामा सन्दीपको उपस्थिति नेपालका लागि अति आवश्यक भएकाले क्यानले गृहकार्य गरिरहेको बताए । यस विषयमा राष्ट्रिय खेलकुद परिषदलाई लिखित पत्राचार गरिएको उनले जानकारी दिए ।

‘हामी राखेपअन्तर्गतका निकाय हौं, त्यसैले अदालतसँग सीधै हामीले एप्रोच गर्नुभन्दा राखेपमार्फत जानु उचित हुन्छ भनेर त्यहाँ पत्राचार गरिएको हो,’ दासले भने ।

क्यानका महाप्रबन्धक वृतान्त खनालले हस्ताक्षर गरेको पत्र हालै राष्ट्रिय खेलकुद परिषदमा पठाइएको छ । उक्त पत्रमा सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न राखेपलाई अनुरोध गरिएको छ ।

‘हामी सन्दीपलाई टीममा समावेश गर्न आफ्नोतर्फबाट सबै पहल गर्नेछौं, तर देशको कानूनी प्रक्रिया र अदालतको सम्मान गरेर जानुपर्ने भएकाले के हुन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने ।

क्यानको पत्रका विषयमा परिषदले के गरिरहेको छ भन्ने जानकारी आइनसकेको दासको भनाइ छ । नेपाल प्रेसले यस विषयमा बुझ्न खोज्दा परिषदका सदस्यसचिव टंकलाल घिसिङले आफू व्यस्त रहेकाले कुरा गर्न नसक्ने बताए ।

यतिबेला क्रिकेट समर्थकहरूले सन्दीपलाई यूएई भ्रमणमा समावेश गर्न माग गरिरहेका छन् । हिजो नेपाल र स्कटल्यान्डको खेल चलिरहँदा दर्शकहरूले ‘सन्दीपलाई दुबई जान दे’ भन्दै नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा पनि सन्दीपलाई रोक्न नहुने आवाज उठेको छ । ‘देशलाई आवश्यक पर्दा आरोपी त के जेलमा रहेका कैदी पनि उतार्नुपर्ने’ क्रिकेट समर्थकहरूको तर्क छ ।

सन्दीपको तर्फबाट वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरे अदालतले विदेश जान लगाएको रोक व्यक्तिगत भ्रमणका सन्दर्भमा मात्रै लागू हुनुपर्ने बताउँछन् ।

‘अदालतको फैसलाले सन्दीपलाई आफूखुशी विदेश जान रोक लगाएको हो । तर, क्यानको मातहतमा राष्ट्रिय टीमको सदस्यका रूपमा जाँदा रोकावट हुनुपर्ने स्थिति देखिँदैन । यस विषयमा हामी कस्तो कानूनी प्रक्रियाबाट अगाडि बढ्न सकिन्छ भन्ने गृहकार्य गरिरहेका छौं,’ उनले भने ।

सन्दीपले पाटन उच्च अदालतको फैसलामाथि सर्वोच्चमा औपचारिक पुनरावेदन गर्दैछन् । सन्दीपमाथि लगाइएको विदेश भ्रमणको रोक हटाउनका लागि आजै पुनरावेदन गर्न लागिएको अधिवक्ता घिमिरेले बताए ।

हिजो काठमाडौंमा सम्पन्न भएको त्रिकोणात्मक श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । अब नेपाली टिम आउँदो १३ गते यूएई भ्रमणमा जाँदैछ । यो श्रृंखला नेपालको एकदिवसीय स्टाटस जोगाउनका लागि निर्णायक रहेको हुँदा सन्दीपको उपस्थिति नेपालका लागि महत्वपूर्ण छ । यूएईको पीचले स्पिनरलाई सहयोग गर्ने भएकाले सन्दीपको बलिङ त्यहाँ चम्किन सक्छ ।

Leave A Reply

Your email address will not be published.