भारतका पाँच पूर्वसेनाप्रमुख काठमाडौँ आइपुगे

काठमाडौँ- नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन्।

टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू काठमाडौँ आइपुगेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले खबरहबलाई जानकारी दिएका छन् ।

जसअनुसार मनोजमुकुन्द नरभणे आज बिहान काठमाडौँ आइपुगेका हुन्। चार जना पूर्वसेनाध्यक्ष दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा हिजै आइपुगेका थिए । भारतका सबै सेनाध्यक्षलाई निम्तो दिए पनि नेपाली मानार्थ महारथीको दर्जा पाएका पाँच जना मात्रै काठमाडौं आएको भण्डारीले बताए।

सैनिक मुख्यालयमा भारतीय सेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुने कार्यक्रम पनि छ। सेना दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा भोलि पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति दिएर वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने तयारी छ।
सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुने भण्डारीले बताए।

हरेक वर्ष महाशिवरात्रिको दिन नेपालमा सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।

Leave A Reply

Your email address will not be published.