सुदुरपश्चिमकाे प्रसिद्ध उग्रतारा मेला अाज

धनगढी: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज मेला लाग्दैछ। डडेल्धुराको अमरगढी नगरपालिका ८ मा लाग्ने उक्त मेलालाई स्थानीय भाषामा ‘देहीजाँत’ भनिछ। त्यहाँ हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए।

उग्रतारा मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न तथा मेलामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मेलाभर जुवातास तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा रोक लगाउने समितिको निर्णय छ। किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो।

आफूले खान ल्याएको खिचडीले टालेर रगत रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।

Leave A Reply

Your email address will not be published.