सुदूर पहाडका सडकमा एक हजार बढी ‘मृत्यु स्तम्भ’

सुदूरपश्चिमका पहाडी जिल्लाका आधा दर्जन राजमार्गमा एक हजारभन्दा बढी ‘मृत्यु स्तम्भ’ राखिएका छन्। सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झना स्वरुप आफन्तले दुर्घटनास्थल मै मृत्यु स्तम्भ बनाउने गरेका छन्। सडक किनारमा किलोमिटर अंकित स्तम्भभन्दा धेरै व्यक्तिका नाम कोरिएका यस्ता स्तम्भले दुर्घटनाको ग्राफ बढेको संकेत मात्र गरेको छैन, पहाडी सडक असुरक्षित रहेको पनि देखाउँछ।

भीमदत्त राजमार्गको डडेल्धुरादेखि बुडरसम्मको ५५ किलोमिटर सडक खण्डमा एक सयभन्दा बढी मृत्यु स्तम्भ रहेका छन्। राजमार्गका हरेक मोडमा मृतकको सम्झनामा आफन्तले स्तम्भ बनाउने गरेको हुन्। सडक दुर्घटना न्यूनिकरणको लागि ठूलै काम गरेको दाबी गर्ने ट्राफिक प्रहरीलाई यी स्तम्भले थप गिज्याइरहेको छ।

चालकको लापरवाही, साँघुरो सडक र ट्राफिक प्रहरीको निगरानी नपुग्दा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको हो। सुदूरपश्चिमका पहाडी जिल्लाका आधा दर्जन राजमार्गमा एक हजारभन्दा बढी मृत्यु स्तम्भ रहेको छन्। दुर्घटनामा परी मृत्यु भएका परिवारजनले राजमार्गको दायाँ बायाँ मृत्यु स्तम्भहरु बनाउने गर्दछन्।

हरेक दुर्घटनाका बारेमा छानबिन गरिन्छ। सुधार गर्ने भनिन्छ तर अर्को ठूलो दुर्घटना नहुँदासम्म कसैलाई चासो नै रहदैन। सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधिमा ८ सय ७५ भन्दा बढी जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। पाँच वर्षको अवधिमा एक हजार चार सय २९ सवारी दुर्घटना भएका छन्।

दुर्घटनमा परी दुई हजार जना गम्भीर घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा देशमै सबैभन्दा बढी सडक दुर्घटना सुदूरपश्चिमका पहाडी जिल्लामा भएका छन्। पहाडी जिल्लामा महामारी रोग भन्दाबढी दुर्घटनाबाट मान्छेको मृत्यु हुने गरेको छ। दैनिक जसो भइरहेका दुर्घटना न्यूनिकरण गर्न सरकारले समयमै ध्यान दिनु जरुरी छ।

Leave A Reply

Your email address will not be published.