रुस-युक्रेन युद्धको एक वर्षः कसले के पायो, के गुमायो ?

काठमाडौं । विश्व समुदायको चेतावनी तथा सुझावलाई नजरअन्दाज गर्दै रुसी सैन्य ट्याङ्कहरू युक्रेनका सडकमा गुड्न थालेको एक वर्ष भएको छ । फेब्रुअरी २४ युक्रेन र रुसका धेरैलाई आफ्ना प्रियजन गुमाउन थालेको दिनको रुपमा सम्झना आउने लगभग पक्कापक्की छ । त्यसमा पनि विशेष गरी युक्रेनी जनताले फेब्रुअरी २४ लाई आफ्नो देशलाई तहसनहस बनाएको कालो दिनको रुपमा अनन्तकालसम्म सम्झिरहनेछन् ।

रुस-युक्रेन युद्धको एक वर्षे कालखण्डमा दुवै देशले कम्तिमा नौदेखि १६ हजार हाराहारी सैनिक गुमाएको बताइन्छ । अमेरिकाले सबैतर्फका दुई लाख हाराहारीको ज्यान गएको अनुमान गरेको छ । लाखौं विस्थापित भएका छन् । निश्चित तथ्यांक थाहा नभए पनि सार्वजनिक तथ्यांक वास्तविकताभन्दा धेरै पर रहेको विश्व समुदायको मान्यता छ । एक वर्षदेखि चलिरहेको यो युद्ध कहिले रोकिन्छ भन्ने अनुमान अहिले नै गर्न सकिने अवस्था छैन ।

हालसम्मका घटनाक्रमलाई मध्यनजर गर्दा जारी युद्धमा आणविक हतियारको समेत प्रयोग हुन सक्ने विश्व समुदायको चिन्ता छ । यस लेखमा रुस-युक्रेन युद्धको हालसम्मका घटनाक्रम सविस्तार वर्णन गरिएको छः

युद्धको सुरुवात कसरी भयो ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष फेब्रुअरी २४ गते बिहान युक्रेनमाथि आक्रमणको घोषणा गरेका थिए । उक्त क्रममा उनले उक्त आक्रमणलाई विशेष सैन्य अपरेशनको संज्ञा दिए । जसको मुख्य लक्ष्य थियो- ‘युक्रेनलाई निशस्त्रीकरण र डि-नाजीफाइ’ गर्नु । युक्रेनको सरकारले सन् २०१४ देखि पूर्वी डोनबास क्षेत्रका रुसी भाषी नागरिकको नरसंहार गर्दै आएको रुसको दाबी छ । सन् २०१४ मा रुसले क्रिमिया प्रायःद्वीपलाई एक जनमतसंग्रह गरेर आफूमा गाभेको थियो ।

पुटिनले फेब्रुअरी २४ को सम्बोधनमा आक्रमणलाई संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नेटो/नाटो ट्रान्स-एटलान्टिक सैन्य गठबन्धनसँग पनि जोडेका थिए । सन् १९९१ मा सोभियत सङ्घको विघटन हुनुभन्दा अगाडिसम्म सोभियत संघको सदस्य रहेको युक्रेनमा नेटोले सैन्य पदस्थापन गर्न खोजेको उनको दाबी छ ।

यस्तैगरी मस्को समर्थित पृथकतावादीहरूले डोनेस्क र लुहान्स्कलाई युक्रेनको नियन्त्रणबाट हटाउने प्रयास गर्दै डोनेस्क र लुहान्स्क जनगणतन्त्र भनिने स्वघोषित राज्यहरुको घोषणा गरेका थिए । क्रिमिया, डोनेस्क र लुहान्स्कलाई धेरै राष्ट्रहरुले अझै पनि युक्रेनको भूभागको मान्यता दिए पनि २०१४ यतामात्र युक्रेनी सरकारी सेना र रुस समर्थित विद्रोहीहरूबीचको चरम द्वन्द्वका कारण सो क्षेत्रमा १४ हजारभन्दा बढीले ज्यान गुमाएको अनुमान छ । सो क्षेत्र सन् २०१४ यता कति जनाले ज्यान गुमाए भन्ने यकिन तथ्यांक नभए पनि केही मानिसहरुले पुटिनले प्रयोग गरेको नरसंहार भन्ने शब्दमा समर्थन गरेको पाइन्छ ।

पुटिनले प्रयोग गरेको डि-नाजीफाइ शब्दले युक्रेनको अजेभो बटालियनलाई संकेत गरेको थियो । मस्को समर्थित पृथकतावादीसँग जुध्न यो बटालियन तयार पारिएको थियो । हाल यो बटालियनलाई अजोभ रेजिमेन्टको रुपमा चिनिने गरिन्छ । पुटिनले फेब्रुअरी २४ को सम्बोधनमा आक्रमणलाई संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नेटो/नाटो ट्रान्स-एटलान्टिक सैन्य गठबन्धनसँग पनि जोडेका थिए । सन् १९९१ मा सोभियत सङ्घको विघटन हुनुभन्दा अगाडिसम्म सोभियत संघको सदस्य रहेको युक्रेनमा नेटोले सैन्य पदस्थापन गर्न खोजेको उनको दाबी छ ।

युक्रेन र यसका पश्चिमी सहयोगीहरूले रुसका यी तमाम तर्कहरुलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका छन् । रुसले आक्रमण गर्नु पछाडिको एकमात्र उद्देश्य युक्रेनलाई कब्जामा लिनु रहेको पश्चिमी सहयोगीहरुको दाबी छ । नेटो विशुद्ध रक्षात्मक गठबन्धन रहेको र युक्रेनलाई यसको सदस्यता दिन पहल नभएको उनीहरुको तर्क छ ।

कसको समर्थनमा कुन देश ?

प्रायः पश्चिमी मुलुकहरु युक्रेनको समर्थनमा रहेका छन् । हालसम्म अमेरिका, इङ्गल्याण्ड, युरोपेली संघ, जापान र अष्ट्रेलियालगायत धेरै देशले कीभलाई अरबौं डलरको सैन्य र मानवीय सहायता प्रदान गरिसकेको छ । यस्तै नेटो सदस्य राष्ट्रहरुले पनि युक्रेनको समर्थन गरिरहेका छन् ।

फेब्रुअरी १३ को संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार रुसले आक्रमण गरेदेखि हालसम्म सयौं बालबालिकासहित कम्तीमा ७ हजार २०० सर्वसाधारण तथा दशौं हजार सैनिक मारिएका छन् ।

रुसको मुख्य समर्थक यसको छिमेकी बेलारुस रहेको छ । रुसले बेलारुसको भूभागलाई आक्रमणको ‘लन्चप्याड’ को रुपमा प्रयोग गर्दै आएको छ । यसैगरी चीन, भारत र टर्की जस्ता धेरै देश जारी युद्धमा तटस्थ बसेका छन् । इरानले रुसलाई सैन्य ड्रोनहरु प्रदान गरेका समाचारहरु पश्चिमा मिडियाहरुमा आइरहेका छन् ।

हालसम्म कति भयो क्षति ?

फेब्रुअरी १३ को संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार रुसले आक्रमण गरेदेखि हालसम्म सयौं बालबालिकासहित कम्तीमा ७ हजार २०० सर्वसाधारण तथा दशौं हजार सैनिक मारिएका छन् । निरन्तर लडाइँले मृतकको गन्ती गर्ने प्रयासमा बाधा पुर्‍याउने भएकाले वास्तविक तथ्यांक अझै बढी हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै युक्रेन र रसिया परम्परागत रूपमा खाद्यान्नको विश्वव्यापी निर्यातकर्ता रहेको हुनाले युद्धले आपूर्ति श्रृंखलालाई ठूलो बाधा पुर्‍याएको जनाइएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार रुसले हालसम्म ब्ल्याक सी व्यापार मार्गको अधिकांश हिस्सा कब्जा गरेको छ । यसबाहेक रुसले युक्रेनको १८ प्रतिशत भूभागमा कब्जा गरिसकेको रिपोर्टमा उल्लेख छ । युक्रेनका ६ ठूला शहर- सेभेरोडोनेत्स्क, डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, मारिउपोल र मेलिटोपोल यस भूमिमा अवस्थित छन् । यी शहरहरूले युक्रेनको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाइएको छ ।

यसैबीच पश्चिमी हतियार आपूर्तिको सहयोगमा युक्रेनी सेना व्यापक जवाफी आक्रमणमा उत्रिएका छन् । नोभेम्बरको मध्यमा युक्रेनीहरूले दक्षिणी शहर खेरसनलाई पुनः आफ्नो कब्जामा लिन सफल भएका थिए । रूसी सेनाले युद्धको सुरुदेखि कब्जा गरेको उक्त क्षेत्रीय राजधानी पुनः कब्जा गर्नु रुसको लागि अपमानजनक रहेको थियो । त्यसबेलादेखि डोनेस्क र लुहान्स्क क्षेत्रहरू मिलेर बनेको डोनबास नियन्त्रणको लागि दुबै पक्ष रक्तपातपूर्ण लडाइँमा व्यस्त छन् ।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार रुसले हालसम्म ब्ल्याक सी व्यापार मार्गको अधिकांश हिस्सा कब्जा गरेको छ । यसबाहेक रुसले युक्रेनको १८ प्रतिशत भूभागमा कब्जा गरिसकेको रिपोर्टमा उल्लेख छ । युक्रेनका ६ ठूला शहर- सेभेरोडोनेत्स्क, डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, मारिउपोल र मेलिटोपोल यस भूमिमा अवस्थित छन् ।

अब के होला ?

युक्रेनी अधिकारीहरूले रसियाले युद्धको पहिलो वर्षगाँठको अवसरमा नयाँ आक्रमण सुरु गर्ने अनुमान गरेका छन् । मस्कोले गत वर्ष जस्तै द्वन्द्वको ज्वारलाई आफ्नो पक्षमा बदल्ने प्रयासमा लाखौं सैनिक परिचालन गर्दै किभलाई आफ्नो पक्षमा पार्न प्रयास गर्न सक्ने युक्रेनको चिन्ता छ । सोहीअनुरुप युक्रेनको तयारी रहेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सरकारको लक्ष्य आक्रमणलाई रोक्नेमात्र नभएर क्रिमियालगायत रुसले कब्जा गरेको सबै युक्रेनी भूभाग फिर्ता लिने रहेको बताउँदै आएका छन् ।

युक्रेनले हाल आफ्नो पश्चिमी सहयोगीहरूसँग थप सैन्य सहयोगको अपिल गर्दै आएको छ । युक्रेनको वर्तमान अपिल एफ १६ लडाकू विमानमा केन्द्रित रहेको छ । हालैमात्र रुसका विदेशमन्त्री सर्गेई लाभरोभले एक अन्तर्वार्तामा युद्धको वार्षिकोत्सव पश्चिमी मुलुकको ध्यानाकर्षण गराउने घटनामा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।

यता रुस-युक्रेन युद्धको वर्षगाँठको ठीक ४ दिन अगाडि गएको फेब्रुअरी २० तारिखमा युक्रेनको मुख्य सहयोगीको रुपमा रहेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनको भ्रमण गरेका छन् । युक्रेनको राजधानी किभमा अचानक उत्रिएका बाइडेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेर सार्वजनिक सम्बोधन गर्दै युक्रेनीले नायक भएर रुससँग लड्दासम्म अमेरिकी साथ र सहयोग हुने प्रतिबद्धतासमेत जनाए । उक्त भेटलाई विश्व समुदायले अत्यन्त महत्वपूर्ण कूटनैतिक भेटको रुपमा चित्रण गरेको छ ।

Leave A Reply

Your email address will not be published.