‘मिडिया सिन्डिकेट’विरुद्ध रवि लामिछानेकाे ‘विष्फोट’ : म गृहमन्त्री बन्दा १२ भाइ सम्पादककाे मुटु फुट्यो

'अब मलाई पासपोर्टमा फसाउन जाँड खाएर मिटिङ बस्दैछन्'

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालका केही मूलधारका सञ्चारमाध्यमको ‘सिन्डिकेट’विरुद्ध विष्फोटक रूपमा खनिएका छन् । नम्बर एक पत्रिकाको रुपमा चिनिएको कान्तिपुर दैनिकविरुद्ध उनी सबैभन्दा आक्रामक बने ।

पार्टीको केन्द्रीय समिति र संसदीय दल बैठकले आज सरकारलाई दिएको समर्थन कायम राख्दै आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो । लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा रविले नेपाली मिडियाका ‘१२ भाइ सम्पादक’विरुद्ध आगो ओकले । उनले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियादेखि सेलिब्रिटी ट्विटे डा. रामेश कोइरालासम्मलाई छोडेनन् ।

डेढ घन्टा लामो पत्रकार सम्मेलनमा रविको आक्रोशको निशानामा १२ भाइ सम्पादक नै थिए । उनले मिलेमतोमा नेपाली मिडियाको ‘एजेन्डा सेटिङ’ गर्दै आएका मूलधारका केही सम्पादकहरुको सिन्डिकेटलाई ‘१२ भाइ’ को संज्ञा दिएका हुन् । कान्तिपुरदेखि सेतोपाटीसम्मले आफूलाई बदनियतपूर्वक लखेटेको गुनासोमात्र रविले गरेनन्, ती मिडियाका मालिक र सम्पादकका लुकेका स्क्यान्डलहरुसमेत सार्वजनिक गरिदिए ।

‘मिडियाबाट ममाथि गरिएको चौतर्फी प्रहार भनेको अदालतलाई प्रभावित पार्नका लागि थियो’, रविले भने, ‘१२ भाइ पत्रकार जम्मा भएर घरी एउटाले एकातिरबाट र घरी अर्कोले अर्कोतिरबाट लखेटे । एउटा मान्छेमाथि यति धेरै प्रहार ?’

स्वार्थको द्वन्द्वका नाममा आफूलाई सिध्याउन खोज्ने मिडियाहरु आफैं स्वार्थको द्वन्द्वमा रहेको रविको आरोप थियो ।

‘नेपाली मिडियाको स्वार्थको द्वन्द्वको व्याख्या गर्ने हिम्मत कसैको छैन । किनभने कान्तिपुरलाई चलायो भने त मार्छ, सिध्याइदिन्छ भन्ने छ । अमित ढकालले त यत्रो आर्टिकल लेखेर बर्बाद पारिदिन्छ भन्ने छ । ढकालले यसलाई यसरी बुझ्नुस् भन्छन्, हामीलाई आफ्नो ढंगले बुझ्न दिँदैनन् । त्यही चिज हेरेर विद्वान साथीहरुले ट्विटरमा टिप्पणी गर्नुहुन्छ- यी हेर पदलोलुप । माननीय सांसदहरु त्यही हेरेर संसदमा भाषण गर्नुहुन्छ । तर, के ती मिडियामा आएको सत्य हुन्छ ? त्यो समाचार कुन इन्ट्रेस्टमा लेखिएको हुन्छ उहाँहरुलाई थाहै हुँदैन ।’

‘के नेपालको मिडियालाई रिझाएरमात्रै पावर गेन गर्ने ? नेपालको मिडियाले चाहेअनुसार देश चलाउने ? सम्पादकज्यूहरु, यदि देश चलाउने हो भने तपाईंहरु चुनाव लड्न आउनुस् । चितवनमा उपनिर्वाचन हुँदैछ । कैलाश सिरोहिया आउने हो कि, अमित ढकाल आउने हो कि रामेश्वर थापा आउने हो ? तर, तपाईंहरुले देश चलाउने होइन । इथिक्स तपाईंहरुलाई पनि लाग्छ । अदालतलाई प्रभाव पार्न एउटै कुरा ४-५ पटक निरन्तर तपाईंले लेख्नुभएको छ । कान्तिपुरमा जे लेख्यो, त्यसपछि अर्को भाइतिर सर्छ । त्यसपछि अर्का फाच्चफुच्चे भाइहरु पनि निस्केका छन् ।’

रविले दुईवटा पुरानो घटना उधिने, जुन कान्तिपुरका मालिक कैलाश सिरोहियासँग जोडिएको थियो ।

‘२०७२ साल मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा बा. २ च ६१०० सेतो रंगको कार भक्सवागन कम्पनीको निजी कार दुर्घटना हुँदा चार जना घाइते भएका थिए । कार सडकमा उत्तानो परेपछि मर्निङ वाकमा निस्केका सर्वसाधारणले कारमा रहेका युवायुवतीलाई उद्दार गरेर नर्भिक अस्पताल लिएर गए । त्यो गाडी कसको थियो थाहा छ तपाईंलाई ? थाहा थियो धेरैलाई । तर, लुकाइयो । सबै डराए । कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो । कार कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाले चलाएका थिए । उनले मदिरा सेवन गरेका थिए । (गाडीका तस्वीरहरु देखाउँदै) यो कसले लुकायो ? किन लुकायो ? यसको खोजी गर्न कसैले सक्छ ? अहँ हुन्न । कैलाश सिरोहियाले सिध्याइदिन्छ । कान्तिपुरले सिध्याइदिन्छ । यसलाई चलाउनुहुन्न । तर, रवि लामिछाने यस्तासँग डराउँदैन । नोट इट डाउन !’

‘त्यो घटनाको सीसीटीभी काण्डको फुटेज हटाइयो । अस्पतालमा अर्कै व्यक्तिको नाम राखियो । पहुँच र शक्तिको आधारमा सार्वजनिक स्थानमा भएको दुर्घटनालाई प्रहरीले गोप्य राख्यो । यसरी प्रहरीलाई समेत प्रभावमा राख्दै आएका व्यक्तिलाई गृह मन्त्रालयमा म गएको उहाँलाई मन परेन ।’

उनले अर्को प्रसंग सुनाएः

‘कोरोनाकालको कुरा हो । कैलाश सिरोहियाले अगष्ट २७, २०२० मा एउटा ट्विट गर्नुभएको थियो । सोल्टी होटलसँग जोडेर उनका बारेमा सामाजिक सञ्जालमा गाईंगुईं थियो, त्यो गम्भीर प्रकृतिको थियो । सायद उहाँ कुनै महिलाबाट दुर्व्यवहारमा पर्नुभयो होला (कटाक्ष) । तर, प्रहरीले कुनै अनुसन्धान गरेन । ट्विटमा भनिए जस्तो सिरोहियाले उजुरी कहिले र कहाँ दिए ?’

रविले सुनाएका थप दुई प्रसंगः

‘अजय सुमार्गीको काण्डमा कान्तिपुरले हुँदै नभएको सीआईबीको प्रतिवेदनलाई आधार बनाएर समाचार लेख्यो, जुन अदालती कागजातबाट पुष्टि हुन्छ । सुमार्गीले नै ‘गोल्डेन शेयर’ को टर्म बाहिर ल्याउनुभएको थियो, जुन धेरैलाई थाहा थिएन । उहाँले भन्नुभएको छ कि नेपालमा कुनै पनि ठूलो व्यवसाय सुरु गर्दा कान्तिपुरलाई केही प्रतिशत नजराना दिनुपर्छ, जसलाई गोल्डेन शेयर भन्ने गरिन्छ । सिरोहियाले मसँग शेयरको सट्टा पुरानै मोलमा जग्गा मागे र नदिएपछि समाचार लेखे भन्नुभएको छ । राजालाई दाम चढाए जस्तो उहाँलाई चढाउनुपर्ने ?’

‘चन्द्रागिरी हिल्सका विषयमा कान्तिपुरले पटकपटक फलोअप गर्‍यो । तर, अकस्मात बन्द भयो । त्यहाँ कैलाश सिरोहियालाई पैसा खुवाइएको सबैलाई थाहा छ । तर पनि उहाँले कारबाही भोग्नु नपर्ने ? उहाँ महाराज ?’

रविले पटक-पटक १२ भाइ सम्पादकले बेलुका बेलुका जाँड खाएर ठोक्ने रणनीति बनाउने गरेको दाबी गरे ।

‘७-१२ पत्रकार जम्मा हुने, जाँड खायो, ल यसलाई ठोकौं भन्यो । मलाई चरित्रहीन देखाएर पनि हेडलाइन बनाएका छन् । उहाँहरुको चरित्रको बारेमा कसले बोल्ने ? कहिलेकाहीँ सम्पादकनी भाउजुहरुले यसो फोन चेक गरे हुने नि ! फुर्सद भएमा मलाई भेट्न आउनुहोला, तपाईंका आदर्शवान सम्पादकहरुको मुखुण्डो म उघारिदिन्छु ।’

रविले ऋषि धमलालाई सर्कसको जोकरसँग तुलना गरे ।

‘बिहानदेखि बेलुकासम्म जनता जान्न चाहन्छन् भन्दै हिँड्ने ऋषि धमलाजीको के कुरा गर्नु ? कहिलेकाहीं जोकर नभए सर्कस चल्दैन भनेर उसलाई छाडिदिए हुन्छ । ग्यालेक्सी टीभी खोल्ने वेलामा जीबी राईजीसँग पाँच करोड रुपैयाँ लिनुभएको अहिले पनि उहाँको फोनमा रेकर्ड होला । उसको कुरा गरेर बस्नु म अहिले ?

रविले नेपालको दुश्मन वैदेशिक शक्ति नभएर नेपालकै मिडिया भएको आरोप लगाए ।

‘देशी-विदेशी शक्तिले हामीलाई प्रभावित पारे भन्छन् । तर, यो देशका दुश्मन विदेशी शक्ति होइनन्, यहाँ सिन्डिकेट कायम गर्ने मिडिया हुन् । जसले भर्खर उभर्दै गरेको, जनताको आशा र भरोसा लिएर आएको दललाई निरन्तर खेदिरहन्छ । रविजी चार महिनाको बीचमा २०-२० जना नयाँ अनुहारका साथीहरु बोकेर तपाईंको चुनावी अभियान कसरी सफल भयो भनेर कसैले सोधेको छ ? सफलताको कथा बनाएर कसैले लेखेको छ ?

केही ट्विर प्रयोगकर्तामाथि पनि रवि खनिए ।

‘आफ्ना पुराना भिडियो हालेर भगवानजीले यसो भन्नुहुन्थ्यो भन्दै लेख्छन् । दुईवटा मान्छे ट्विटरमा बसेर सबैको सातो लिएका छन् । रामेश कोइरालाले ट्विट लेख्छ भनेर मान्छे बौलाएर हिँडेको छ । तर, उहाँले आफ्नो बौद्धिकताको लम्बाइ कहाँसम्म राख्नुभएको छ भने गगन थापाको कट्टुभन्दा पर छैन ।’

गृहमन्त्री भएपछि क्रसर बन्द गर्ने र खोल्ने निर्णय गर्दा मिडियामा प्रकाशित समाचारको पनि उनले यसरी आलोचना गरे ।

‘हामीले गरेका कामहरुमा उहाँहरुलाई हेडलाइन हाल्नु नै छैन । क्रसरमा मैले खाएँ कि क्या हो भने जसरी लेखियो । लाइसेन्स नलिएका क्रसर बन्द गर्ने निर्णय गरिएको थियो । मापदण्ड पुगेकालाई सच्याएर गर्ने भन्ने अर्को निर्णय भयो । एउटा भनेर अर्को काम गर्नेहरुलाई पनि चल्न नदिने निर्णय । तर, १२ भाइ पत्रकारलाई त यो पच्दैन । उनीहरुलाई त टक्क जाँड खाएर यसलाई ठोकौं भन्ने हुन्छ । लेखाउनुस् । यिनले ठोकेर नेपाली राजनीति सधैं डराउने ? कान्तिपुरले ठोक्छ भनेर कहिलेसम्म डराउने ? मसित चल्दैन । अर्गनाइज्ड तरिकाले पेल्दै पेल्दै गइएको छ । तर म अभिमन्यू होइन । मलाई पस्नमात्र होइन, निस्कन पनि आउँछ ।’

आधारहीन समाचार लेख्नेलाई अब आफूले नछाड्ने रविले चेतावनी दिए ।

‘अब आधारविहीन समाचार लेख्यो भने म कान्तिपुरलाई घेर्न आउँछु । आधारसहित आउनुस् नो प्रोब्लम । तपाईंहरुका पाठक होलान्, म मेरा शुभेच्छुक लिएर आउँछु । गलत समाचार र हेडलाइन नलेख्नुस् खबरदार ! मलाईमात्र होइन कसैलाई पनि पेल्न पाइँदैन । सही ढंगले लेख्नुस्, ठीक छ ।’

‘जुन दिन सेतोपाटीले श्रीमतीको किरियामा बसेको मान्छेलाई फरार भनेर लेखिदियो, त्यस दिनदेखि अमित ढकालप्रति मेरो विश्वास गुम्यो । उहाँले एक महिना धाएर, रिक्वेस्ट गरेर एक साथीलाई मकहाँ पठाउनुभो । ती साथी आउनुभो, कुरा गर्नुभयो, अनि इतिहासकै सबैभन्दा लामो लेख लेखेर जानुभो । यो मान्छे हावा हो, चरित्रहीन हो, महत्वाकांक्षी, ट्वाक्कटुक्क चलाउने लेवलको मान्छे हो । उहाँको यति लामो उहाँको आर्टिकलले हाम्रो पार्टीमा आउन तयार भएका कतिपय राम्रा मान्छेहरु पनि आएनन् ।’

केही मिडियाले भारतको नाम भजाएर मान्छे तर्साउने गरेको आरोप पनि रविले लगाए । उनले अंग्रेजी र हिन्दीमा पनि भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै यो सन्देश दिएका थिए ।

‘केही मिडियाले विदेशीको एजेन्ट हुँ भनेर दुई देशकै सम्बन्ध बिगारेका छन् । कान्तिपुरले लेखेपछि अहो इन्डियाको लाइन हो भन्ने हुन्छ । इन्डियाको नाम लिएर हामीलाई तर्साइरहेको छ । मोदीजी तपाईंहरुको नाममा यहाँ मानिसहरुले लुटिरहेका छन् । उनीहरु नेपाल र भारतको सम्बन्ध अगाडि बढाउने सोचिरहेका छैनन् । यसरी एजेन्ट बनेर काम गर्नेहरुमाथि विश्वास गर्न बन्द गर्नुस् । यो धन्धा बन्द गराउनुस् । नेपाल र भारत राम्रो साथी हो भन्ने लाग्छ भने बीचमा यस्ता एजेन्टहरुसँग होइन सीधा सरकारसँग कुरा गर्नुस् ।’

आफ्नैबारेमा रविले भने, ‘म एकदमै धेरै बौद्धिक मान्छे होइन । तर, तपाईंलाई झुक्याउन सक्ने बौद्धिकता छ । तर, म आज हृदयबाट बोलिरहेको छु । एउटा चिज सुनाउन चाहन्छु । हामीभित्र डरैडर छ । जो डराउँछ, त्यसले लुक्ने ठाउँ पाउँदैन । म डराएर राजनीति गर्न आएको होइन । नडराइकन लडेर आएको हुँ । अलिअलि भएको डर पनि आज उत्रियो ।’

नेताहरुले पत्रकार रिझाएर राजनीति गर्ने हो भने देश उँभो नलाग्ने रविले निष्कर्ष सुनाए । मिडियाकै कारणले प्रधानमन्त्रीले आफूलाई गृहमन्त्री नियुक्त गर्न नसकेको उनको आशय थियो ।

‘प्रधानमन्त्रीलाई पनि टेन्सन हुन्छ । अगाडि टेबलमा यत्रायत्रा हेडलाइन भएका पत्रिका छन् । रवि लामिछानेको स्वार्थको द्वन्द्व भनेर लेखेको लेख्यै छन् । अहो, यसलाई गृहमन्त्री बनायो भने त मलाई पनि सिध्याउँछन् भन्ने भयो उहाँलाई । सातो लिएका छन् यिनीहरुले ।’

‘अब मलाई तपाईंहरुले गर्ने के ? पार्टीबाट निकाल्ने ? देशबाट निकाल्ने ? त्यसका लागि पनि म तयार छु । हिजोको बेथिति राणा शासनमा थियो होला । अर्को बेथिति शाही शासनमा थियो होला । आजको बेथिति मिडियामा छ । म मिडियाका साथीहरुलाई भन्न चाहन्छु, एकदिन हाम्रो पार्टीमा खाना खान आउनुस् । इमानले कमाएर खाएको खानाको स्वाद अर्कै हुन्छ ।’

‘अब मलाई पासपोर्टमा हान्न सकिन्छ भनेर १२ भाइ मिलिसके होला । मिटिङ भइसक्यो होला । म रेडी छु । फसाउनुहोला, मजाले फसाउनुहोला । हिजो गृहमन्त्री हुँदा त केही गर्न सकिनँ भने पहिल्यै बाहिर आएको डकुमेन्टमा के गर्न सकुँला र ? तर, तपाईंहरुलाई एउटा कुरा बताउँछु । आज नेपाली जनतालाई दुःख पर्‍यो भने युवराज कँडेल, वीरेन्द्र जैरु, रमेश प्रसाईंलाई खोज्दै हिँड्छन् । तर, तपाईंलाई खोज्दै हिँड्दैनन् । तपाईं यी नै ठाउँलाई प्रभावित गर्नमात्रै पत्रकारिता गरिरहनुभएको छ ।’

म आगामी चुनावमा सरकार बनाउने गरी, प्रधानमन्त्री बन्ने गरी यो पार्टीलाई अघि बढाउँछु । त्यो पनि कसैको जुठा नखाइकन । यस्तो कुरा भनेपछि १२ भाइलाई त पासपोर्ट…. भन्ने दिमागमा आइहाल्छ । त्यहाँ त ढ्याम्मै फसाइन्छ भन्ने छ । पासपोर्टमा फसेपछि आजीवन चुनाव लड्न पाइन्न । तर, सुन्नुस् । म जेल परे पनि, म मरे पनि, बहुलाए पनि रास्वपा अगाडि बढ्छ ।

मन्त्री क्वाटर खाली गरेन भनेर लेख्नुभो अमित ढकालले । सामान चोर्‍यो भन्नुहोला भनेर चियाउनसमेत आउनुभो । तर, म क्वार्टरमा फर्केर गएको छैन । मेरो श्रीमतीले लगाउने लुगा पनि भएन, गन्हाइसक्यो भन्दा पनि गएको छैन । म पनि यही पाइन्ट लगाएर बसिरहेको छु । यति पापी छन् नि यिनीहरु ! यति दुःख दिएका छन् । सामान चोरेर लगे भनेर लेख्न पनि हिच्किचाउँदैनन् । पापको पनि एउटा सीमा हुन्छ । म जस्तो आएको त्यस्तै जाने हो । अझै कुरा चलिरहेको छ । यसलाई कन्फर्म गरेपछि निस्केर जाउँला । हाम्रो मन्त्री कोही आउनुभयो भने त्यहीं बस्नुहुन्छ । तर, म एउटा पनि सामान लिएर जान्न ।

म नागरिकता लिन लाइन लागिनँ भनेर लेखे । लाइन लागेको भए स्टन्ट भनेर लेख्थे । लाइन लाग्नुपर्ने ठाउँमा लाग्छु । मेरो विशेष केस भएकाले लाइन लाग्नु परेन । एयरपोर्टको बसमा उभिँदा स्टन्ट भयो । पपुलर हुन खोज्ने भनियो । मैले गर्ने चाहिं के ? ट्विटेले त मलाई नगरकोटमा गाई चराएर खान सक्छ पनि भन्दैनन् । त्यति अपमानित गर्छन् मलाई ।

दुनियाको सबैभन्दा बेथितिको मान्छे यही रहेछ भन्ने भाष्य क्रियट गरियो । त्यसैले म अलिकति आत्तिए । अब यसपछि पनि आज के हेडलाइन हाल्ने हो रेडी हुन्छ । १२ बजे बसेर जाँड खाने वेला हुन लाग्यो होला । कति बज्यो ? अर्काले दिएको रक्सी खान्छन्, किनेको होइन । ट्याक्स रेकर्ड हेरौं न । मलाई खायो भन्छन् । मैले काम गरेर ट्याक्स तिरेर खाएको छु ।’

‘मैले आज लेभलमा नरहेर कुरा गरेको जस्तो लाग्यो होला । चौबाटोमा रक्सी खाएर कुरा गरेजस्तो भयो । म तल झरेकै हो । तर, मेरोभन्दा नेपाली मिडियाको लेभल भएन । लेभल सम्झाउन भन्नैपर्ने हो । हिजो पत्रकार हुँदा तपाईंहरुले पत्रकार नै नमान्नुभएको, उपप्रधानमन्त्री र गृहमन्त्री भएपछि तपाईंहरुको मुटु फुटिहाल्यो नि ! मुटुका एकजना डाक्टर थिए, उनको पनि आधा मुटु फुट्यो ।’

Leave A Reply

Your email address will not be published.