सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि गठबन्धनभित्रै तीव्र प्रतिस्पर्धा

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि भागबन्डाअनुसार व्यवस्थापन नमिलेपछि सत्ता गठबन्धनभित्रै तीव्र प्रतिस्पर्धा हुने भएको छ। गठबन्धनका सहयात्री दलको भागमा परेका धेरै क्षेत्रमा एकीकृत समाजवादीले आधिकारिक टिकट दिएर उम्मेदवार खडा गरेको छ।

कांग्रेस र माओवादीले दोहोरो टिकट नबाँडेपनि बागी उम्मेदवार धेरै छन्। कांग्रेस–माओवादीको भागमा परेका तीनवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले उम्मेदवार उठाएको छ। माओवादीको भागमा परेको कञ्चनपुर ३ (१) र कांग्रेसको भागमा परेको कञ्चनपुर २ (२) मा एकीकृत समाजवादीका आधिकारिक उम्मेदवार छन्। कञ्चनपुर ३ (१) मा गठबन्धनबाट माओवादीका टेकेन्द्र भट्ट र एकीकृत समाजवादीका प्रकाश रावल उम्मेदवार छन्।

कञ्चनपुर २ को (२) मा गठबन्धनबाट कांग्रेसका बहादुरसिंह थापा र एकीकृत समाजवादीबाट लालबहादुर खड्का उम्मेदवार छन्। बाजुराको प्रदेशसभा (१) मा गठबन्धनबाट माओवादीका कर्णबहादुर विक र एकीकृत समाजवादीका नरेश शाही उठेका छन्।
जिल्लास्तरबाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका उम्मेदवारलाई लत्याएर केन्द्रबाटै टिकट खरिदविक्रीको काम भएको माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ५ का संयोजक डीएल भण्डारीले बताए।

‘योग्य र क्षमतवान नेतृत्वलाई लत्याएर नीति र विधिविरीत उम्मेदावर खडा गरेको विषयप्रति हाम्रो असहमति हो, विधि र पद्धती विपरीतको कुनै पनि निर्णय हामीलाई मान्य नभएपछि सिफारिस भएको तीनजनामध्येबाटै एकजनालाई अघि बढाएका हौँ।’
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठाएर कांग्रेस बीपीसँग तालमेल गरेको छ। सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द बोहरा उम्मेदवार रहेको डडेलधुराको प्रदेशसभा (२) मा एकीकृत समाजवादीका तारा जोशी उम्मेदवार छन्।

पार्टीको टिकटबाट उठेका नभए पनि उनलाई एकीकृत समाजवादी जिल्ला कमिटीको समर्थन छ। कांग्रेस बीपी र एकीकृत समाजवादीबीच प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई र प्रदेशसभामा जोशीलाई सहयोग गर्ने सहमति भएको छ। प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनभित्र बग्रेल्ती बागी उम्मेदवार छन्। सबैभन्दा बढी बागी कांग्रेसका छन्।

कैलाली २ को (२) मा माओवादीका राजेन्द्र साउदविरुद्ध कांग्रेसका स्थानीय नेता भरत शाह उठेका छन्। कैलाली ३ को (२) मा एकीकृत समाजवादीका अमर साँउदले गठबन्धनबाट टिकट पाएका छन् भने कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशी र जिल्लास्तरीय नेता लक्ष्मण शाही पनि उठेका छन्। कैलाली ४ को (२) मा कांग्रेसका प्रकाशबहादुर बमविरुद्ध कांग्रेसकै प्रेम शाह र भगवती पाठक उठेका छन्। कैलाली ५ को (२) मा कांग्रेसका प्रकाशबहादुर देउवाविरुद्ध कांग्रेसकै पूर्वविद्यार्थी नेता क्षितिज भण्डारीले उम्मेदवारी दिएका हुन्।

त्यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को (१) मा माओवादीका टेकेन्द्र भट्टविरुद्ध कांग्रेसका क्षेत्रीय प्रतिनिधि पीताम्बर जोशीले बागी उम्मेदवारी दिएका छन्। बैतडीको प्रदेशसभा (१) मा गठबन्धनबाट उठेका कांग्रेस जिल्ला उपसभापति वीरबहादुर विष्टविरुद्ध कांग्रेसकै महासमिति सदस्य हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन्। कैलाली ४ को (१) मा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध माओवादीका भोजराज सापकोटा बागी उठेका छन्। त्यस्तै कैलाली ५ को (१) मा माओवादीका उम्मेदवार रमेश धामीविरुद्ध माओवादीकै रमेशकुमार बस्नेत चुनावी मैदानमा छन्।

स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरेका कैलाली क्षेत्र नम्बर १ प्रदेश सभासदस्यका दाबेदार बस्नेतले आफु कहिले पनि माओवादी पार्टीको नभएको र विभिन्न सामाजिक संघसंस्थाको रहेर समाज सेवामा काम गरेको बताएका छन्। ‘माओवादीमा मुख्यमन्त्रीका पीयले टिकट पाउने, पैसामा टिकट खरिदविक्री हुने जुन प्रकारको अवस्था देखियो, यो विधि र पद्धतीकै विरुद्धको क्रियाकलाप हो।’ मेरो कसैका विरुद्ध उम्मेदवार होइन, स्वतन्त्र उम्मेदवारी दिएर समाज सेवामा लाग्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ।’

Leave A Reply

Your email address will not be published.