काँग्रेस (विपी), नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच चुनावी मोर्चाबन्दी

राम धामी,डडेल्धुरा, असोज २७। प्रतिनिधी सभा सदस्य पदका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवारी दर्ता गराएका राष्ट्रिय सभाका पुर्व साँसद चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता भएसँगै डडेल्धुरामा नेपाली काँग्रेस (विपी), नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच चुनावी मोर्चाबन्दी भएको छ ।

नेकपा (एमाले)ले प्रतिनिधी सभामा नेपाली काँग्रेस (विपी)का उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने सहमति अनुरुप प्रतिनिधी सभा सदस्य पदमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएको हो । पार्टीको निर्णयअनुसार आफुले उम्मेदवारी दर्ता गराएको र नेपाली काँग्रेस (विपी)सँग भएको सहमति अनुसार पार्टी केन्द्रीय कार्यालयबाटै आफ्नो उम्मेदवारी फिर्ता ल्याइएको एमालेबाट प्रतिनिधी सभाका उम्मेदवार स्नेहीले बताए।

एमालेले प्रतिनिधी सभामा नेपाली काँग्रेस (विपी)का उम्मेदवार मल्ललाई सघाउने भएपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’ बाट एमालेका उम्मेदवार पुर्वमन्त्री पठानसिँह बोहरालाई सघाउने सर्तमा नेपााली काँग्रेस (विपी)ले पनि उम्मेदवारी फिर्ता गरेको छ । प्रदेश सभा क्षेत्र नं. ‘क’ मा एमाले उम्मेदवार बोहरालाई सघाउने सहमति भएकाले नेपाली काँग्रेस (विपी) का उम्मेदवार गणेशप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेस (विपी) डडेल्धुराका सभापति भरत नेपालीले बताए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ मा भने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य डा. ताराप्रसाद जोशीलाई नेपाली काँग्रेस (विपी)ले सघाउने भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने कसरतमा रहेका डा. जोशीलाई सत्तारुढ गठबन्धनबाट टिकट नमिलेपछि प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

डा. जोशीले सत्तारुढ गठबन्धनको अपहेलनामा परेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र सिँगो पार्टी पंक्तिको समर्थन डा. जोशीलाई भएको नेकपा (एकीकृत समाजवादी) डडेल्धुरा जिल्ला कमिटि अध्यक्ष कविन्द्र बिष्टले बताए । उनले प्रतिनिधी सभामा नेपाली काँग्रेस (विपी) का उम्मेदवार मल्ललाई समर्थन गरिएको जानकारी दिए । डा. जोशीले चुनाव चिन्ह लालटिन पाएका छन।

नेपाली काँग्रेस (विपी) का सुदूरपश्चिम प्रदेश सभापति करुणाकर भट्टले सत्तारुढ गठबन्धनलाई पराजित गर्ने उदेश्यले जिल्लामा एमाले र (एकीकृत समाजवादी)सँग चुनावी गठबन्धन बनेको भन्दै दुबैपार्टीप्रति कृतज्ञता जाहेर गरे । उनले डडेल्धुरामा अब सत्तारुढ गठबन्धन पराजित हुने जिकिर समेत गरेका छन । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ बाट एमालेका नेता पुर्व जिविस सभापति गजेन्द्रबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ । रेडियो अमरगढीवाट साभार

Leave A Reply

Your email address will not be published.