ज्यान लिने भीर

कृष्णप्रसाद गौतम

असारदेखि भदौसम्म घाँस काट्ने क्रममा कर्णालीका भीरबाट लडेर १९ जनाले ज्यान गुमाए, विगतका यस्ता घटनाको प्रस्ट तथ्यांक न प्रदेश सरकारसँग छ न त प्रहरीसँगै

सुर्खेत — सल्यानको कुमाख गाउँपालिका–३ चिनालीकी ५७ मैसरा विकका घरमा एक हल गोरुसहित ४ भैंसी र ९ खसीबाख्रा छन् । आम्दानीको मुख्य स्रोत नै पशुपालन भएकाले उनलाई बस्तुभाउ नपाली धर छैन । यतिका धेरै चौपाया पाल्न उनलाई दैनिक ५ डोका घाँस चाहिन्छ । त्यसका लागि कम्तीमा दैनिक तीन पटक कान्लातिर नझरी सुख छैन । यसरी जोखिम मोल्दै घाँस काटेर ल्याउँदा उनको परिवारले अनेक दुर्घटना भोग्नुपरेको छ ।

मुगुको सोरु गाउँपालिकाकी महिला भीरको उकालोमा घाँसको भारी बोकेर जाँदै। तस्बिर : राजबहादुर शाही/कान्तिपुर
उनका पति गगनबहादुर पोहोर भीरबाटै लडेर झन्डै ४ महिना थलिए । गत असार ७ गते घाँस काट्न गएको बेला उनकी कान्छी बुहारी २४ वर्षीया शोभाले भीरबाट लडेर ज्यान गुमाइन् । विवाह भएको २ वर्ष नहुँदै बुहारीको मृत्यु भएको पीडाले उनी अहिले पनि विक्षिप्त छिन् । पत्नी वियोगको पीडा सहन नसकेर १३ दिनको किरिया कर्म सकिएको दोस्रो दिन नै कान्छा छोरा अर्जुन भारत फर्किए । ‘एक मुठा घाँसका लागि ठूलो सास्ती बेहोर्नुपर्छ,’ उनले भनिन्, ‘भगवान्को नाम जप्दै घाँस काट्नुपरेको छ, यही घाँसकै निहुँमा बुहारीले ज्यान गुमाइन्, हामीलाई पनि यही भीरले लैजान्छ कि भन्ने पीर छ ।’

२ छोरासहित एक बुहारी मजदुरीका लागि भारत भएकाले ती बस्तुभाउको खान्की जुटाउने जिम्मा उनी र पति गगनबहादुरको काँधमा छ । दिनमा तीनपल्ट घाँस काट्न कान्ला झर्नैपर्छ । ‘हाम्रो गाउँमा सम्म जग्गा छैन, सम्म जग्गा भनेकै घर बनाइएको ठाउँ मात्रै हो,’ उनले भनिन्, ‘खेती नहुने भएपछि पशुपालनबाटै जीविकोपार्जन गरिरहेका छौं । घाँस काट्न जाँदा कतिपल्ट भीरमा लडियो हिसाबै छैन ।’

घाँसकै निम्ति उनको परिवारले भोगेको सास्ती कर्णालीका अधिकांश कृषक परिवारको साझा दुःख हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ की १९ वर्षीया सीमा बुढालाई भीरमा घाँस काट्दा कहिल्यै डर लाग्दैनथ्यो । किनकि १४ वर्षको उमेरदेखि नै उनी भालुलोटे भीर पुगेर घाँस काट्दै आइरहेकी थिइन् । तर गत साउनदेखि भने त्यो भीर सम्झेर पनि अत्यास लाग्न थालेको छ । त्यस दिन उनी साथी कमला बुढासँग घाँस काट्न गएकी थिइन् । उनले हेर्दाहेर्दै चिप्लेर कमला भीरबाट झन्डै डेढ सय मिटर तल खसिन् । उनी कसोकसो १० मिनेट हिँडेर खसेकी साथीलाई उठाउन पुगिन् । ‘उठाउन खोजें, चिच्याएँ तर बोलिनन्,’ त्यो क्षण सम्झिँदै उनले सुनाइन्, ‘पछि छरछिमेकी आएपछि थाहा भयो, उनको घटनास्थलमै ज्यान गइसकेको रहेछ ।’ बाल्यकालीन साथीलाई आँखैअघि गुमाउनुको पीडाबाट सीमा अझै बाहिर निस्कन सकेकी छैनन् । गाउँकै हिमालय माविबाट कक्षा १२ उत्तीर्ण गरेका उनीहरू उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम मुसीकोट जाने तयारीमा थिए । तर कमलाको मृत्युपछि सबै योजना भताभुंग भयो । ‘अहिले त सानो भीर देखे पनि हातखुट्टा फत्र्याकफुत्रुक हुन्छ, सँगै खेलेकी–हुर्केकी साथी गुमाउनुको पीडा कसरी भुल्नु ?’

कर्णालीका १० जिल्लामा शोभा र कमलाजस्तै घाँस र स्याउलापात काट्न जाँदा भीरबाट लडेर कतिको मृत्यु भयो र कति घाइते छन् भन्ने तथ्यांक न प्रदेश सरकारसँग छ न त प्रहरीसँग नै । कान्तिपुरले जिल्ला संवाददाताहरूमार्फत भीरबाट लड्नेको तथ्यांक संकलन गरेको थियो । जसमा असारदेखि भदौसम्मको तीन महिनामा मात्रै घाँस काट्ने क्रममा भीरबाट लडेर १९ जनाको ज्यान गएको देखिन्छ । संकलित तथ्यांकअनुसार घाँस काट्ने क्रममा लडेर सल्यानका मात्रै ७ जनाले ज्यान गुमाए । हुम्ला, डोल्पा र सुर्खेतबाहेक सबै जिल्लामा कम्तीमा १ जनाले ज्यान गुमाएका छन् । भीरबाट लडेर ज्यान गुमाएकामध्ये १३ जनाले घाँस काट्ने क्रममै ज्यान गुमाएको देखिन्छ । ‘यो संख्या सानो होइन, हामी दुर्घटना वा महामारीमा २/४ जनाको मृत्यु भए पनि त्यसलाई ठूलो भन्छौं,’ नागरिक अगुवा दुर्गाप्रसाद सापकोटाले भने, ‘एउटै घटनामा ठूलो संख्यामा ज्यान जानुले यो पनि कर्णालीको ठूलो समस्या हो भन्ने देखाउँछ ।’ उनका अनुसार सुर्खेतबाहेक ९ वटै जिल्लामा अग्ला र ठूला भीर हुनु, घाँसकै लागि स्थानीय ठूला–ठूला भीरमा चढ्नु, सावधानी नअपनाउनुलगायतका कारण लड्नेको संख्या बढ्दै गएको हो ।

कर्णालीको भूगोल नै अप्ठ्यारो हुँदा र समथर भूभागभन्दा भिरालो जग्गा धेरै भएकाले ज्यान गुमाउनेको संख्या बढिरहेको मनोविमर्शकर्ता नरेन्द्र विक बताउँछन् । ‘जताततै भीरैभीर छ, त्यसैले ग्रामीण समाजले भीरलाई चुनौती र जोखिमका रूपमा कहिल्यै लिएन,’ उनले भने, ‘त्यसैले साना घटनामै भीरबाट लडेर ज्यान गुमाउने बढिरहेका छन् ।’ उनले भीरबाट लड्नेमा सबैभन्दा बढी घटना घाँस काट्ने, फलफूल टिप्ने, रमाइलो गर्ने नाममा भएको बताए । अहिले आत्महत्या गर्नेहरूले रोज्ने ठाउँ पनि भीर भएको उनको भनाइ छ । उनको संस्था कोसिस नेपालले कोरोना महामारीका समयमा गरेको अध्ययनअनुसार ३ वर्षको अवधिमा आत्महत्या गरेका मध्ये १७ जनाले भीरबाट हाम फालेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा कर्णालीभरि १ सय ९७ जनाले आत्महत्या गरेका छन् ।

भीरबाट लडेर घाइते हुनेहरूको संख्या पनि कर्णालीमा बढिरहेको देखिन्छ । प्रदेश अस्पताल सुर्खेतमा गत वर्ष भीरबाट लडेर घाइते भएका ५७ जनाले उपचार गराएका छन् । अघिल्लो वर्ष त्यो संख्या ३२ मात्र थियो । त्यसमध्ये रुकुम पश्चिम र कालीकोटबाट १/१ जनालाई रेफर गरेर सुर्खेत ल्याइएको थियो । ‘भीरबाट लड्ने घटना डरलाग्दो र भयानक घटना हो, सानोतिनो भीरबाट त मान्छे खस्दै खस्दैन,’ हाडजोर्नी रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले भने, ‘खस्यो भने एक त ऊ बाँच्दैन, बाँच्यो भने कि त अपांग भएर बस्नुपर्छ, कि त जीवनभर उपचार गराइरहनुपर्छ ।’

भीरबाट लडेर घाइते हुनेहरूको पीडा झन् भयानक छ । जाजरकोटको जुनेचाँदी गाउँपालिका–४ की २९ वर्षीया सोसिला खत्री गत असार ४ गते ऐंसेलु टिप्ने क्रममा रातेभीरबाट झन्डै ५० मिटर तल खसिन् । ‘धन्न बाँचें तर बाँच्नुको पीडा मलाई मात्र थाहा छ,’ प्रदेश अस्पतालमा उपचार गराइरहेकी उनले भनिन्, ‘सुरुमा प्रदेश अस्पताल आएँ, मेरुदण्डको अपरेसन गर्नुपर्ने भनियो, डाक्टरले जोखिम छ भनेपछि नेपालगन्ज गएँ, त्यहाँ पनि डाक्टरले विश्वासिला कुरा गरेनन्, पछि भारतको लखनउ गएर अपरेसन भयो ।’ हाल सुर्खेतको खजुरा बस्दै आएकी उनको मेरुदण्डका ३ ठाउँमा अपरेसन गरिएको छ । घाउ अझै निको नभएकाले कहिले आफू सामान्य अवस्थामा आउँछु भन्ने उनलाई नै थाहा छैन । सातामा एकपल्ट ड्रेसिङ गर्न प्रदेश अस्पताल आउनुपर्ने भएकाले उनले सुर्खेतमै कोठा लिएर बसिरहेको बताइन् । ‘खर्च बढेको बढ्यै छ, अस्पताल र मेडिकलमा मात्रै महिनामा कम्तीमा १० हजार खर्च हुन्छ,’ उनले भनिन्, ‘आफ्नो शरीरको दुखाइको पीडा छुट्टै छ, खर्च पनि धान्न नसकिने अवस्था भइसक्यो ।’

कर्णालीमा अधिकांश जग्गा भिरालो हुनु, स्थानीयहरू परम्परागत पेसा व्यवसायमै निर्भर हुनु, दुर्घटनालाई सानो रूपमा लिइनुलगायत कारण पनि भीरबाट लड्नेको संख्या बढिरहेको कर्णाली स्वयंसेवी समाजका अध्यक्ष अशोक केसी बताउँछन् । उनीहरूको संस्थाले १ वर्षको अवधिमा विभिन्न आपत्कालीन अवस्थाका ५० जनालाई उद्धार गरी अस्पताल भर्ना गरेको छ । त्यसमध्ये ११ जना भीरबाट लडेकालाई उद्धार गरिएको थियो । ‘कर्णालीमा हुने भयानक दुर्घटनामध्ये भीरबाट लड्नु पनि एक हो, मैले नै गुराँसेबाट उद्धार गरेर ल्याउने क्रममा एक जना भीरबाट लडेका दाइको मेरै पिठ्यूँमै ज्यान गएको थियो,’ उनले भने, ‘हामीलाई उहाँ लडेको २ घण्टापछि जानकारी आयो, अरू कसैले चासो नदेखाएपछि हामी घटना भएको ४ घण्टामा मात्र घटनास्थल पुग्यौं ।’ एम्बुलेन्स र घटनास्थलको दूरी बढीमा २ सय मिटर भए पनि दुर्घटनालाई सामान्य रूपमा लिने प्रवृत्तिका कारण घाइतेको ज्यान गएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले भीरबाट लडेर ज्यान गुमाउने भवितव्य घटना भएकाले आफूहरूसँग त्यसको तथ्यांक नहुने बताए । ‘तर यो समस्या कर्णालीमा भयावह छ, सायद भीरबाट ज्यान गुमाउनेको संख्या नेपालभरिमै कर्णालीमा बढी छ,’ उनले भने, ‘एक त कर्णालीको भूगोल नै अप्ठ्यारो, त्यसमा पनि भीर जीविकोपार्जनसँग जोडिएको छ । घाँस काट्न, माटो खन्न, फलफूल टिप्न, एउटा गाउँबाट अर्को गाउँ आउजाउ गर्न भीरकै बाटो विकल्प छ ।’कान्तिपुर वाट साभार

Leave A Reply

Your email address will not be published.