सुदूरपश्चिममा दसैंमा भारी वर्षाको सम्भावना, यस्तो छ मनसुन तालिका

काठमाडौंः यस वर्षको दसैंमा देशका विभिन्न चारवटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १९ गते विजया दशमीदेखि २१ गते द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दसैंका लागि विशेष मनसुन बुलेटिन प्रकाशित गर्दै उक्त जानकारी दिएको हो। शाखाका अनुसार नेपालमा मनसुन सरदर अक्टोबर २ बाहिरिने भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ। हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावनादेखिएको छ।

आउँदो मंगलबार नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार विजया दशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.