सर्पले टोकेपछि ३ दिनसम्म उपचार पाउन सकेन डडेल्धुराकी कलावतीले

डडेल्धुराकी कलावती खत्री अहिले जीवनमरणको दोसाँधमा छिन्। सर्पले टोकेपछि ३ दिनसम्म पनि उनले उपचार पाउन सकेकी छैनिन्।

जिल्लाको परशुराम नगरपालिका–६ भोरकुण्डाका ५० वर्षीय खत्रीलाई शुक्रबार दिउँसो सर्पले टोकेको थियो। आफ्नै बारीमा घाँस काट्ने बेला उनलाई सर्पले खुट्टामा टोकेको हो।

तर, लगातार वर्षा भइरहेकाले उनलाई तुरुन्तै उपचारका लागि अस्पताल लैजान सकिएन। अस्पताल लैजान नसकिने भएपछि उनलाई स्थानीयले नजिकैको वैद्यकहाँ लगेका थिए। वर्षाले ग्रामिण सडक झनै विग्रिएपछि उनी हालसम्म वैद्यको भरमा छिन्।

वर्षातका कारण सडक बिग्रेकोले जोगबुडा अस्पतालसम्म लग्न नसएिको स्थानीय भूपेन्द्र धामीले बताए। ‘हामीले उनलाई साँदनी स्वास्थ्य चौकीसम्म लग्यौं। तर, त्यहाँ सर्पले टोकेकाको उपचार नहुने रहेछ,’ धामीले भने, ‘सर्पले टोकेकी कलावतीको जीवन अहिले वैद्यको भरमा छ।’

जोगबुडा अस्पतालसम्म लैजान धेरै ठाउँमा सडक अवरुद्ध भएकोले त्यहाँ पुयाउन नसकिएको धामीले बताएका छन्। भोरकुण्डाबाट जोगबुडा पुग्न पाँच घन्टा पैदल हिँड्नुपर्ने हुन्छ।
यता परशुराम नगरपालिका भने उक्त घटनाबारे बेखबर रहेको छ। नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले उक्त घटनाबारे जानकारी आफूकहाँ नआएको बताए। उनले जानकारी आएमा उपचारको प्रवन्ध मिलाउने बताए।

Leave A Reply

Your email address will not be published.