देउवाविरुद्ध उम्मेदवार सिफारिस बोहरा भन्छन् :यसपटक शेरबहादुरको विरासत तोडिने गरी अगाडि बढ्छौं’,

जनताले अवसर दिंयो भने,गुनासोको गर्ने ठाउँ नराख्नेगरी काम गर्नेछु

नेकपा एमाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका पठानसिंह बोहरा, प्रधानमन्त्री शेरबहादुर देउवाको विरासत यसपटक तोडिने जिकिर गर्छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् । ६ पटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री भए पनि देउवाले डडेलधुराको विकासलाई अगाडि बढाउन नसकेको भन्दै बोहराले, यसपटक जनताको निर्णय बदलिने दाबी गरे ।

‘हामी बाहिर गएर बस्दैनौं, जनताको बीचमा बस्छौं । यहाँको समस्यालाई सम्बोधन गर्नेगरी अगाडि बढ्छौं’ बोहराले  ‘जनतालाई पनि आह्वान गर्छौं- जनतासँगै बस्नेलाई मत दिनुहोस् ।’ प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा आफूले उल्लेख्य विकास निर्माणको काम गरेकाले पनि मत पाउने उनको विश्वास छ ।

प्रदेश सरकारका पूर्वमन्त्री बोहराले प्रस्तुत गरेको चुनाव जित्ने दावी यस्तो छ :

डडेलधुरामा नेकपा एमालेको नेतृत्व कहिल्यै पनि स्थापित हुन सकेन । कुनैपनि चुनावमा एमालेको उम्मेदवार निश्चित भएन । एकपटक चुनाव लडेका व्यक्ति अर्को पटक मैदानमा उत्रन नपाउने परिस्थिति बन्दै आयो ।

बहुदल आएपछिको पहिलो चुनावमै एमालेसँग स्थापित लिडर थिएन । गोविन्दप्रसाद कलौनीलाई माध्यमिक विद्यालयको शिक्षकबाट राजीनामा गर्न लगाएर पार्टीले उम्मेदवार बनायो । उहाँले पनि एक चुनाव मात्रै लड्न पाउनु भयो, त्यसपछि पाउनुभएन ।

त्यसबेला हामी जति नेता थियौं, कम उमेरका थियौं । पढिरहेका विद्यार्थी पार्टीमा थियौं । त्यसबेलाका विद्यार्थी नेताहरु यो ३० वर्षको अवधिमा ५० माथि उमेरका नेता भइसक्यौं । एमालेमा नेतृत्व स्थापित हुन नसक्नुको कारण माओवादीको सशस्त्र विद्रोह पनि थियो । माओवादी विद्रोहकै कारण एमालेमा क्षति पुग्यो ।

माओवादीले चाहिँ त्यो बेला संगठन बिस्तार गर्यो प्रभाव बढायो । तर माओवादीले पनि जित्न सकेन । खगराज भट्टले जितिहाल्नुहुन्छ भन्ने लागेको थियो । डडेलधुराकै बुझाइ पनि खगराज भट्टले जित्नुहुन्छ भन्ने थियो । तर ब्याडलक भनौं, थोरै भोटले हार्नुभयो । झण्डै १४ सय भोटले शेरबहादुर देउवाले नै जित्नुभयो ।

खगराज भट्ट हार्नुमा थोरै प्राविधिक कारण हो । त्यसबेला माओवादीको तयारी पुगेन । संयुक्त जनमोर्चासँग तालमेल गर्नुभयो । तर तालमेलको निर्णय निकै ढिलो भयो । जनमोर्चाले उम्मेदवारी दिएर प्रचारप्रसारको अभियान चलाइसकेपछि तालमेल भयो ।

जनमोर्चाका नेताहरुले सपोर्ट त गर्नुभयो तर मतदान हुँदा जनमोर्चाका कार्यकर्ताले भोट आफ्नै निर्वाचन चिह्नमा हाले ।

तालमेलको सन्देश मतदातासम्म लैजान सकेनन् । यदि तालमेलको भोट थपिएको भए खगराजले जित्नु हुन्थ्यो ।

तर नेपाली कांग्रेसको भने डडेलधुरामा पहिलेबाटै बलियो छाप रहेको देखिन्छ । २०३६ सालको जनमत संग्रहमा पनि डडेलधुरामा बहुदलले धेरै मत ल्याएको हो । त्यसपछि ६ पटक देउवाले चुनाव जित्नुभयो । अहिले पनि यहीँको मत पाएर देउवा देशको प्रधानमन्त्री हुनुहुन्छ, नेपाली कांग्रेसको सभापति हुनुहुन्छ ।

तर जसरी प्रधानमन्त्री भइरहनुभएको छ, लगातार जितिरहनुभएको छ, त्यसको तुलनामा सुदूरपश्चिम र डडेलधुराको विकास हुन सकेको छैन । उहाँको लेभल अनुसार कर्णालीको रुप फेरिएको छैन । सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको सन्दर्भमा प्रधानमन्त्री देउवाले केही पनि गर्नुभएको छैन । यहाँका जनताले आफ्नो मिहिनेतबाट जति खेतीबाली लगाउनुभएको छ, बाँकी जिविकाका लागि भारतका विभिन्न शहरमा रोजगारीमा जानुपर्ने बाध्यता कायमै छ ।

शेरबहादुर देउवाको पद र जिम्मेवारी बीच ठूलो अन्तर छ । राष्ट्रकै प्रमुखको जिम्मेवारी लिएर पनि डडेलधुरामा गतिलो अस्पताल समेत छैन ।

तर मैले तीन वर्ष प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बन्ने अवसर पाएँ । यो अवधिमा मैले बाटाहरु फराकिलो बनाउने र कालोपत्रे बनाउने गरी योजना अगाडि बढाएको छु । पुलहरु बनाएको छु । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसँग समन्वय गरेर दीर्घकालीन महत्वको काम भएको छ ।

पञ्चायतकै पालामा खुलेका सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको छु । त्यसको उदाहरणका रुपमा बुडर-जोगबुढा खण्डलाई लिन सकिन्छ । यो सडक ३० वर्ष अगाडि खुलेको हो । तर म प्रदेशको मन्त्री भएपछि बल्ल स्तरोन्नति गर्ने प्रक्रियामा लगियो । प्रदेशलाई हस्तान्तरण भएपछि जोगबुढाबाट कञ्चनपुर जाने सडकको काम अगाडि बढेको छ ।

डडेलधुरा दुई भागमा बाँडिएको छ, सदरमुकाम भएको पहाडी क्षेत्र र तल्लो भित्री मधेश । भित्री मधेशमा रहेका डडेलधुरावासीलाई आफ्नै सदरमुकाम पनि डोटी भएर जानुपर्ने समस्या वर्षौंदेखि थियो । अर्को जिल्लाबाट आउँदा कम्तिमा एक साता सदरमुकाम जान लाग्ने अवस्था वर्षौंसम्म रह्यो । सबै सरकारी कार्यालय सदरमुकाममा रहेकाले जनतालाई ठूलो समस्या थियो । तीन वर्ष प्रदेश सरकारमा हुँदा त्यो समस्या हल गर्ने प्रयत्न गरें ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएको पहिलो वर्षभित्रै भित्री मधेशका जनतालाई महाभारत छिचोलेर आफ्नो सदरमुकाम आउन जिल्लाकै बाटो बनाएँ ।

त्यसैले जनताले प्रश्न गर्ने ठाउँ मैले राखेको छैन । यो आउने चुनावमा पनि मतदातासँग भन्छौं- हामी निरन्तर जनतासँग छौं । यहाँबाट जितेर पनि जाने, पद पनि पाउने, तर जिल्लालाई नहेर्ने काम गर्दैनौं । पार्टीले मलाई नै उम्मेदवार बनाएको अवस्थामा प्रतिबद्धता गर्छु- म यहीँ बस्छु । कुनै शहरमा गएर, घरबार लगाएर बस्दिनँ । बसेको पनि छैन । यहीँ छु, लगातार छु ।

जनताको अवस्था बुझेको छु, नागरिकहरुको अवस्था बुझेको छु । यहाँका बाटोघाटो नपुगेको, खानेपानी नपुगेको, बिजुली नपुगेको, शिक्षा र स्वास्थ्य नभएको कहाँ हो भन्ने बुझेको छु ।

जनतासँग आहृवान गर्छु- जनताले अवसर दिंदा प्रदेश सरकारको मन्त्री हुँदा जसरी काम गरेको छु, त्यसरी नै गुनासोको ठाउँ नराख्नेगरी काम गर्नेछु ।

Leave A Reply

Your email address will not be published.