पचास वर्षमा पनि पूरा नभएको सिँचाइ पोखरी

डडेल्धुरा, भदौ २६ गते । २०२९ सालमा निर्माण गरिएको सुदूरपश्चिमको सबैभन्दा बढी क्षमताको सिँचाइ पोखरी निर्माण भएदेखि नै रित्तो छ। विभिन्न मेला र चाडपर्वमा भने पोखरी मान्छेको भीडले भरिने गरेको छ। अमरगढी नगरपालिका–७, (तत्कालीन उग्रतारा गाविस–५) पोखरामा सिँचाइका लागि निर्मित पोखरी सिँचाइ प्रयोजनमा भने कहिल्यै आउन सकेको छैन।

सुनपोखरी नामको उक्त पोखरी डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पूर्वतर्फ राजमार्गसँगै जोडिएको छ। पानीबिनाको पोखरीभित्र चाडपर्वका बेला स्थानीयले सांस्कृतिक कार्यक्रम गर्दै आएका छन्। अन्य समयमा बालबालिका खेल्ने गरेका छन्। वडा कार्यालयले छाडा पशुचौपाया थुन्नसमेत प्रयोग गर्दै आएको छ।

पोखरा क्षेत्रमा एक दर्जन गाउँमा सिँचाइको व्यवस्था गर्ने लक्ष्यका साथ पोखरी निर्माण गर्न थालिएको थियो। पोखरीको पानी पूर्वतर्फबाट भट्गाउँ, नानीभट्गाउँ हुँदै नहर लगेर जोशीगाउँ, भन्तनगाउँ, ओखरमुनि, ऐरीगाउँ, राउतगाउँ हुँदै सल्लागाउँसम्म पु-याउने योजना थियो। त्यस्तै पश्चिमतर्फ तिलाडी, पोखरा शेराखेत, सिरोला, भाटागाउँसम्म नहर पु¥याएर सिँचाइ गर्ने योजना बनाइएको थियो। सो योजनाअनुसारको लक्ष्य हालसम्म पनि पूरा हुन सकेको छैन। २०२९ सालमा ८५ हजार रुपियाँ लागत अनुमानमा ११० फिट लम्बाइ, ८५ फिट चौडाइ र आठ फिट गहिराइको पोखरी निर्माण गरिएको स्थानीय केशव भट्टराईले बताउनुभयो। यसको क्षमता करिब साढे तीन लाख लिटर हुने सिँचाइ कार्यालय डडेल्धुरका सबइन्जिनियर रोशन भट्टले बताउनुभयो।

डेढ किलोमिटर टाढाबाट नहर मर्मत गरेर ढुङ्गाको गारोमा सिमेन्टले ढलान गर्ने योजना थियो। तर, सो रकममा नहर र पोखरी खन्ने काम मात्रै भएको थियो। भट्टराईका अनुसार रकम अपुग भएपछि थप रकम माग गरिँदा एक लाख आठ हजार रुपियाँ पुनः निकासा भएको थियो। थप रकमले गारो र प्लास्टरको काम भएको थियो। घेरबार र इन्टेक बनाउन रकम अभाव भएपछि तत्कालीन अञ्चालाधीशसँग फेरि बजेट माग गरिएको थियो। तर, केही स्थानीयले प्रशासनसमक्ष अनियमितता भएको निवेदन दिएपछि निर्माण कार्य रोकिएको थियो।

२०२९ देखि २०३४ सालसम्म पोखरी निर्माण समितिका अध्यक्ष भोजराज भट्टराई हुनुहुन्थ्यो। त्यसयता जीर्ण रहेको पोखरी २०५९ सालमा पुनः मर्मतका लागि टेन्डरमार्फत काम थालिएको तत्कालीन निर्माण समितिका अध्यक्ष हरिलाल पार्कीले जानकारी दिनुभयो। नौ लाख रुपियाँको टेन्डर घटाघटीमा ठेकेदारले छ लाखमा काम गरेको उहाँले बताउनुभयो। सो रकममा पोखरीभित्र छड बिछ्याई कङ्क्रिट र सिमेन्टको चार इन्च ढलान र करिब दुई किलोमिटर लामो ९० इन्चको पाइपलाइन बिछ्याइएको उहाँले बताउनुभयो। पोखरीको दक्षिणतर्फ बाहिरको भागमा सुरक्षाका लागि तारजालीको पर्खालसमेत लगाइएको र चौतर्फी रूपमा काँडेतारले घेरबार पनि गरिएको उहाँले बताउनुभयो। २०६६ साल असोज महिनाको अविरल वर्षाले पोखरीको बीच भागबाट करिब चार इन्च जति चिरा परेपछि त्यसयता कुनै काम नभएर जीर्ण अवस्थामा रहेको हो।

हाल सो पोखरीको छेउमा अर्को सानो पोखरी बनाई पोखरा, तिलाडी, भाटागाउँ र सिरोलागाउँका केही खेतमा सिँचाइ गरेर तरकारी खेती गरिने गरिएको छ। अन्य गाउँमा भने यो पोखरीको पानी कहिल्यै लैजान सकिएको छैन। पोखरी पुनर्निर्माण गर्नसके पोखरा क्षेत्रका एक दर्जन गाउँका झन्डै छ हजार स्थानीय लाभान्वित हुने स्थानीय पार्कीको भनाइ छ। पोखरी निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र हालसम्म सङ्घीय र प्रदेश सरकारले बजेटको व्यवस्था गर्न नसकेको वडाध्यक्ष खड्क बोहराले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.