विवादित चार्ल्सको काँधमा बेलायती राजतन्त्रको विरासत

बेलायती महारानी एलिजावेथ द्वितीयको निधनलगत्तै उनका जेठा छोरा ७४ वर्षीय चार्ल्सलाई सिंहासन हस्तान्तरण गरिएको छ।

एलिजावेथको उत्तराधिकारीका रूपमा गद्दी हस्तान्तरण भए पनि विभिन्न प्रक्रिया सकिएपछि मात्र उनी औपचारिक राजा बन्ने छन्। वेल्सका राजकुमार चार्ल्स अब राजा चार्ल्स तृतीयका रूपमा चिनिने बिबिसीले जनाएको छ।

बेलायतको इतिहासमा राजगद्दीमा पुग्न चार्ल्सले लामो प्रतीक्षा गर्नुपर्‍यो। चार वर्षको उमेरमा उत्तराधिकारी घोषित भएका उनले राजा बन्न ७० वर्ष कुर्नुपर्‍यो। उनी बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न आइपुगेका छन्।

एलिजावेथ द्वितीय २५ वर्ष उमेरमा बेलायतकी महारानी भएकी थिइन्। संसारभरि बेलायतको आधिपत्य हुँदादेखि ब्रेक्जिटका कारण अनिश्चित भविष्यको स्थितिमा आउँदासम्म उनले शाही परिवारको गौरवशाली साख कायम राखिन्। आलोचित विगत रहेका चार्ल्सले त्यो साख कसरी जोगाउलान् भन्ने अहिले सर्वत्र चासोको विषय बनेको छ।

डायनासँगको सम्बन्ध बिच्छेद र पछि कार दुर्घटनामा डायनाको निधन लगायत कारणले चार्ल्स विवादित थिए। सन् १९९० दशकको मध्यतिर केही आलोचकले उनलाई राजा स्वीकार गर्न नसकिने आवाज उठाए। चार्ल्सभन्दा उनका बेदागी छोरा विलियम्सलाई महारानीको उत्तराधिकारी घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।

सन् १९९१ मा सर्वेक्षण गर्दा चार्ल्स असल राजा हुनेमा ८२ प्रतिशत जनता विश्वस्त थिए। सन् १९९६ को सर्वेक्षणले भने ४१ प्रतिशत जनताले मात्र चार्ल्सलाई राम्रो उत्तराधिकारी माने।

डायनाको मृत्युपछि चार्ल्स आफ्नो छवि सुधार्नमा केन्द्रित भए। त्यस निम्ति तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरसँग मिलेर उनले काम गर्न थाले। ब्लेयरसँगको सहकार्यले आफ्नो छवि सुधार्न उनी सफल पनि बने। उनका खरो आलोचकहरूले पनि उनमा सम्भावना देख्न थाले।

डायनासँग विवाहका बाबजुद चार्ल्स क्यामेलियासँग रोमान्समा थिए। सन् २००५ मा क्यामेलियासँग विवाहपछि उनको धुमिल विगत बिस्तारै लयमा फर्कियो।

निजी जीवन लयमा फर्किए पनि उथलपुथल बेहोरिरहेको राजपरिवारलाई लयमा फर्काउने चुनौती चार्ल्सलाई छ। आफ्ना कान्छा छोरा ह्यारी र बुहारी मेगनको विवाहले निम्त्याएको विवाद उनले सुल्झाउनुपर्नेछ। यौन दुर्व्यवहारको आरोप लागेका भाइ एन्ड्रुसँगको अप्रिय सम्बन्ध उनले व्यवस्थापन गर्नुपर्नेछ।

बेलायतको राजतन्त्रले अब संक्रमणकाल बेहोर्ने जानकारहरू बताउँछन्। जीवनभर राजा बन्ने तयारी गरेर बसेका चार्ल्स आफ्नो सोच र विचार अरूमाथि लाद्ने स्वभावका कारण राजतन्त्रमाथि नै संक्रमणकालको स्थिति आउनसक्ने किंग्स कलेज लन्डनका प्राध्यापक भेनन बग्दानरले न्युयोर्क टाइम्सलाई बताएका छन्।

‘उनको शासन शैली अलग किसिमको होला तर चार्ल्स आफ्ना विशेषाधिकारको सीमाबाट अघि बढ्ने छैनन्,’ उनले भने।

वेल्सको राजकुमारका रूपमा पृथक पहिचान बनाउने उद्देश्यले चार्ल्सले परोपकारी संस्था गठन गरेका थिए। हालैका वर्ष उनले महारानी एलिजावेथका तर्फबाट निर्वाह गर्नुपर्ने कामहरू पनि गरे। महारानीका तर्फबाट विदेश भ्रमणदेखि सम्मान अर्पणका काममा उनको सहभागिता रह्यो। प्रथम विश्वयुद्धको स्मृति दिवसका अवसरमा महारानीले दिवंगत सैनिकहरूको स्मारकमा सम्मान अर्पण गर्ने परम्परा थियो। उनले त्यहाँ महारानीका तर्फबाट आफूले माल्यार्पण गरे।

राजनीतिक मुद्दामा टिप्पणी गर्नसमेत चार्ल्स हिच्किचाउँदैनन्। सन् २००५ मा भएको हमलापछि ‘इस्लामोफोबिया’ बढेको बेलायतमा उनले धार्मिक सहिष्णुताको वकालत गरेका थिए। उनको भूमिकाले सम्भावित धार्मिक द्वन्द्व शान्त पार्न मद्दत गरेको थियो।

‘उनी रात्रि क्लबमा समय बिताउन सक्थे तर आवश्यक पर्दा सामाजिक भूमिकासमेत निर्वाह गरिरहेका छन्,’ प्राध्यापक बग्दानरले भनेका छन्।

कहिलेकाहीँ कडा विचारका कारण उनी समस्यामा पनि परेका छन्।

सन् १९८४ मा उनले नेसनल ग्यालरीको विस्तारको खाकामाथि मजाक गरेका थिए। उनले मजाक उडाएपछि त्यो योजना नै स्थगित हुन पुग्यो। आफ्नो डिजाइन रद्द गर्न चार्ल्स नै लागिपरेको भन्दै एक वास्तुकारले उनलाई संवैधानिक जिम्मेवारी मिचेको आरोप लगाएका थिए।

सन् २००६ मा उनी बेलायती पत्रिका ‘द मेल’ विरूद्ध खनिए। सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गर्न महारानीको प्रतिनिधि बनेर चार्ल्स त्यहाँ पुगेका थिए। चार्ल्सले डायरीमा नोट गरेको वाक्यांशलाई ‘द मेल’ ले जस्ताको तस्तै छापेको थियो। आफ्नो गोपनीयता भंग गरेको भन्दै उनले ‘द मेल’ विरूद्ध मुद्दा हाले। त्यो मुद्दा उनले जितेका थिए।

गौरवशाली वर्चश्व बोकेको राजतन्त्रको नेतृत्वका रूपमा अब उनलाई असावधानीको छुट छैन। सार्वजनिक गर्दा असर पर्ने राय उनले आफैंसँग सुरक्षित राख्नुपर्नेछ। आफ्नी आमा एलिजावेथबाटै उनले विवेकी बन्न सिक्नुपर्नेछ। युरोपियन युनियनबाट बाहिरिने बेलायतको निर्णयमा पनि शाही पर्यवेक्षकहरूले महारानी एलिजावेथको धारणा बुझ्न सकेका थिएनन्।

चार्ल्स बेलायतका मात्र होइनन्, १४ वटा कमनवेल्थ नेसनका प्रमुख हुनेछन्। हालैको सर्वेक्षणले उनलाई त्यति धेरै लोकप्रिय भने देखाएको छैन। शाही परिवारका सदस्यभित्र छनौट गर्दा उनी ११ प्रतिशतको छनौटमा मात्र अटाएका छन्।

चार्ल्सलाई कमैले मनपराए पनि राजतन्त्र भने धेरैले मनपराएका छन्। सर्वेक्षणअनुसार ४३ प्रतिशत जनताले राजतन्त्रविना मुलुकको भविष्य बिग्रिने प्रतिक्रिया दिएका छन्। त्यस्तै १९ प्रतिशतले राजतन्त्र अन्त्य हुनुपर्ने बताएका छन् भने ३१ प्रतिशतले राजतन्त्र वा नयाँ व्यवस्था जे आउँदा पनि कुनै असर नपर्ने राय दिएका छन्।

राजतन्त्रको भविष्य सुरक्षित देखिएको बेलायतमा त्यसतर्फ जनतालाई अझै आकर्षित गर्न चार्ल्सले थप काम गर्नुपर्ने देखिन्छ। संकट बेला बेलायती जनता एलिजावेथलाई सम्झन्थे। चार्ल्स संकटमा स्मरण गर्न योग्य बन्लान् वा नबन्लान् भन्नेमा संशय देखिन्छ।

यसबारे शाही इतिहासकार पेनी जुनरले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘केही वर्षयता चार्ल्सले आफ्नो कद बढाएका छन्। असल शासन गर्नेमा उनी निकै आत्मविश्वासी पनि देखिन्छन्।’

चार्ल्ससँग कस्तो अपेक्षा छ?

चार्ल्सले बेलायतको स्थिरतालाई निरन्तरता दिँदै त्यहाँको बहुसांस्कृतिक समाजलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ। बिबिसीसँगको कुराकानीमा शाही मामिला जानकार भिक्टोरिया मर्फीले भनेकी छन्, ‘धेरै ठूला अपेक्षा नगरौं, उनले बहुसांस्कृतिक बेलायतलाई एकताबद्ध राख्न होसियारीपूर्वक काम गर्नेछन् भन्ने विश्वास राखौं।’

कतिपयले उनलाई बेलायतको भावी पुस्ता निम्ति काम गर्ने राजाका रूपमा देख्न पाइने विश्वास गरेका छन्।

‘भावी पुस्तालाई लिएर चार्ल्स निकै चिन्तित छन्। उनले आगामी पुस्ताका लागि निकै काम गर्छन् भन्ने विश्वास छ,’ चार्ल्ससँग काम गरेका क्रिस पोपले भने।

विश्वका एजेन्डामा चाख राख्ने र आवश्यकताअनुसार सुझाव दिनसक्ने नेतृत्वका रूपमा पनि उनलाई हेरिएको छ।

इतिहासकार एन्थोनी सेल्डनले बिबिसीसँग भनेका छन्, ‘जलवायु परिवर्तनबारे ग्लास्गोमा उनको धारणालाई सबैले चाखपूर्वक लिएका थिए। अमेरिका राष्ट्रपति जो बाइडेनले उनका कुराप्रति सहमति जनाएका थिए। आवश्यकताअनुसार सबै विषयमा उनले सही सुझाव दिनेछन् भन्ने विश्वास छ।’

शनिबार एलिजावेथको अन्तिम संस्कारलगत्तै चार्ल्स राजा भएको घोषणा हुनेछ। उनको राज्याभिषेकमा भने समय लाग्नसक्छ।

सन् १९५२ फेब्रुअरीमा महारानी घोषणा भएकी एलिजावेथको पनि सन् १९५३ जुनमा मात्र राज्याभिषेक भएको थियो।

नौ सय वर्षदेखि वेस्टमिन्स्टर अब्बेमा राज्याभिषेक हुँदै आएको छ। त्यहाँ पहिलोपटक विलियमको राज्याभिषेक भएको थियो। चार्ल्स ४०औं हुनेछन् र ७० वर्षपछि त्यहाँ ‘सेभ द किंग’ गान गुञ्जिनेछ।

(बिबिसी, न्यूयोर्क टाइम्स र सिएनएनमा प्रकाशित सामग्रीमा आधारित)

Leave A Reply

Your email address will not be published.