कांग्रेसजनको बीपी-द्विविधा र बीपी-विमर्शको चौथो आयाम

बीपी कोइरालाको व्यक्तित्व, कृतित्व, भूमिका र योगदानबारे पर्याप्त विचार-विमर्श भएकै छ । बीपीलाई आदर्श र मानक मानेर राजनीति गर्ने राजनीतिक दल नेपाली कांग्रेस उत्तिकै बलियो छ । बीपीको जन्मजयन्ती, स्मृति दिवसलगायत अवसरमा उनको व्यक्तित्वका आयामबारे चर्चा, परिचर्चा भइरहेकै हुन्छन् । लेख, भाषण, प्रवचन र ग्रन्थहरू आइरहेकै छन् ।

निःसन्देह उनी त्यसका लागि लायक पात्र हुन् । बीपी कोइरालाको व्यक्तित्व, विचार र संघर्षको कथा विना आधुनिक नेपालको गाथा विशेषतः लोकतान्त्रिक आन्दोलनको इतिहास अपूरो र फिक्का हुन्छ । बीपी कोइरालाका योगदानलाई मुख्यतः तीन वटा पाटोबाट हेर्न सकिन्छ- उनको वैचारिकी, राजनीतिक जीवन-संघर्ष र साहित्यिक योगदान ।

यहाँ चर्चा गर्न खोजिएको साहित्यिक योगदानबारे हैन । उनको वैचारिकी र राजनीतिक संघर्ष बीचका तादात्म्य र बेमेललाई केलाउने प्रयत्न गरिएको छ ।

बीपी कोइरालाको वैचारिक भाष्य र राजनीतिक संघर्षको आरोह-अवरोहलाई बुझ्ने विषयमा सबैभन्दा बढी अन्योल स्वयं कांग्रेसजनमै देख्न सकिन्छ । यसलाई ‘कांग्रेसजनको बीपी-द्विविधा’ भन्न सकिन्छ । यो द्विविधाका तीन आयाम छन् ।

एक- बीपीलाई एक ‘व्यवहारवादी राष्ट्रवादी-प्रजातान्त्रिक तथा नरम दक्षिणपन्थी’ विचारक र राजनीतिज्ञका रूपमा बुझ्ने दृष्टिकोण । यो दृष्टिकोणबाट प्रभावित एउटा पंक्ति अहिले पनि देखिन्छ । कमल थापादेखि रवीन्द्र मिश्रसम्मका सम्वर्द्धनवादी वा नवसम्वर्द्धनवादी मात्र हैन, स्वयं बीपीको परिवारका केही सदस्य समेत यो दृष्टिकोणबाट प्रभावित छन् । स्वयं बीपीपुत्र प्रकाश कोइराला र उनकी नातिनी चर्चित नायिका मनिषा कोइरालाले यो दृष्टिकोणबाट बीपीलाई ग्रहण गर्न चाहेको बुझिन्छ ।

यही मेसोमा एक नयाँ राजनीतिक दल समेत खुलेको छ, नेपाली कांग्रेस (बीपी) । हरिबोल भट्टराई तथा सुशीलमान शेरचन जस्ता व्यक्तित्वहरू बीपी विचारको यो पाटोलाई पक्रिनतिर लागेका छन् । नेपाली कांग्रेसभित्रै रहेका लोकेश ढकाल तथा लक्ष्मण घिमिरे जस्ता केही मझौला नेताहरूले समेत यो धारलाई पक्रिन खोजेको संकेत पाइन्छ ।

यो धारको मुख्य उद्देश्य बीपीको राजनीतिक विचार र जीवन-संघर्षलाई ‘संसदीय लोकतन्त्र र संवैधानिक राजतन्त्र’ मा सीमित गर्नु हो । बीपी नेपालको शाहवंशीय राजतन्त्रले सबैभन्दा धेरै दुःख दिएका वा सताइएका राजनीतिज्ञ थिए । २००७ सालपछि उनलाई रोक्न वा अप्ठ्यारो पार्न उनकै दाजु मातृकाप्रसाद कोइरालालाई उपयोग गरी कांग्रेस विभाजन गरियो । २०१७ सालमा उनको जननिर्वाचित सरकारलाई अपदस्थ गरियो । कोइराला लामो समय जेलमा राखिए, जेलबाट छुटेपछि भारत निर्वासित भए । तर, पनि उनले संवैधानिक राजतन्त्रको लाइन छोडेनन् ।

राष्ट्रिय मेलमिलाप नीति अवलम्बन गर्दै प्रवासबाट नेपाल फर्किंदा ‘राजाको गर्धनमाथि आफ्नो गर्धन’ भएको चरम व्यवहारवादी अभिव्यक्ति दिए ।

‘राजा प्रजातन्त्रवादी नहोला तर आफ्नै श्रीपेच राजगद्दीको लोभले किन नहोस्, राष्ट्रवादी चाहिं हुन्छ, राजाबाट प्रजातन्त्रलाई खतरा हुन सक्दछ, यो सवालमा प्रजातन्त्रवादीहरू राजासँग लड्नुपर्छ तर राजाबाट राष्ट्रलाई खतरा हुँदैन, राष्ट्रियताको सवालमा प्रजातन्त्रवादीहरू राजासँग मिल्नुपर्छ’ जस्ता अभिव्यक्तिलाई यो धारले समात्न खोजेको छ ।

दुई- बीपीलाई एक ‘उदार-लोकतान्त्रिक’ नेताका रूपमा चित्रण गर्ने दृष्टिकोण । बीपी जीवनको प्रारम्भतिर मार्क्सवाद र कम्युनिज्मप्रति रुझान राख्थे । तर, जीवनको उत्तरार्धतिर आइपुग्दा उनी साम्यवादका चर्को आलोचक बन्न पुगे । आफैं सशस्त्र संघर्षमा सामेल भएका बीपी गान्धीवादको कुरा गर्ने भए । यहाँसम्म कि बीपीले कम्युनिस्ट पार्टीसँग सहकार्य गरी पञ्चायत विरुद्ध संयुक्त जनआन्दोलन गर्न समेत स्वीकार गरेनन् ।

बीपीले राष्ट्रियताको कुरा गरे । राष्ट्रियता आजको सन्दर्भमा के हो ? निःसन्देह त्यो बहुसांस्कृतिकवाद हो । सबै जाति, भाषा, धर्म, संस्कृति, मनोविज्ञानका जनताको पहिचान, अधिकार, समावेशिता, सहभागिता, साझेदारी र त्यसबाट उत्पन्न हुने एकता नै आजको राष्ट्रियता हो
बीपीको यो दोस्रो छवि निर्माणमा उनका भाइ तथा प्रभावशाली कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको सबैभन्दा महत्वपूर्ण भूमिका रहृयो । २०४८ सालपछि निर्वाचित कांग्रेस सरकारको नेतृत्व गरेका गिरिजाप्रसादले अर्थतन्त्रमा निरपेक्ष बजारवाद, निजीकरण, उदारीकरण र भूमण्डलीकरणको नयाँ अध्याय सुरुवात गरे । कोइराला सरकारको कार्यकालमा आठौं पञ्चवषर्ीय योजनाको आधारपत्र तयार गर्न महेश आचार्य, डा. रामशरण महत लगायतको सहभागिता थियो । उनीहरूले बीपी विचारलाई सन् १९९० पछिको नवउदारवादी विश्व दृष्टिकोणबाट तादात्म्य बनाउने प्रयास गरे । यो पाटोबाट हेर्दा कांग्रेसमाथि ‘पूँजीवादी पार्टी’ को आरोप लाग्नु अस्वाभाविक हैन ।

बीपीलाई यो दोस्रो धारबाट बुझ्न चाहनेहरूमा युवा पुस्ताका नेता गगन थापा समेत थपिएको प्रतीत हुन्छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनताका उनले अघि सारेको ‘सामाजिक लोकतन्त्र र समुन्नत नेपाली’ दस्तावेजको शीर्षकमा सामाजिक लोकतन्त्र भए पनि त्यसको अन्तर्य भने सन् १९९० को दशकमा गिरिजाप्रसाद कोइरालाले सुरुवात गरेका नवउदारवादी आर्थिक सुधारको प्रतिरक्षा गर्नु जस्तो देखिन्छ ।

तेस्रो- यो दृष्टिकोणले बीपी कोइरालालाई ‘नरम दक्षिणपन्थी’ वा ‘नवउदारवादी’ का रूपमा नभएर ‘प्रजातान्त्रिक समाजवादी’ विचारकका रूपमा ग्रहण गर्दछ । बीपीलाई यो धारबाट हेर्ने मानिस कांग्रेसभित्र निकै सीमित छन् । जस्तो कि प्रदीप गिरि थिए ।

बीपीको यो तेस्रो छवि निर्माणमा योगदान गर्ने थुप्रै प्रमाण छन् । जस्तो कि २०१२ सालको वीरगञ्ज महाधिवेशनमा उनले पार्टीको सिद्धान्तका रूपमा ‘प्रजातान्त्रिक समाजवाद’ लाई अनुमोदन गराएका थिए । भारतमा उनको राजनीतिक निकटता जवाहरलाल नेहरूभन्दा बढी डा. राममनोहर लोहिया र जयप्रकाश नारायण जस्ता नेताहरूसँग रहृयो । संभवतः बीपी-नेहरू बेमेल र तिक्तताको एक कारण यो पनि थियो कि कोइराला त्यहाँको राजनीतिमा नेहरूका विरोधीहरूसँग निकटता राख्थे ।

सन् १९३४ मै भारतीय राष्ट्रिय कांग्रेसभित्र ‘समाजवादी कांग्रेस पार्टी’ बनाउने लोहिया र नारायणहरू स्वतन्त्रपछि कांग्रेसबाट अलग भएर भिन्नै पार्टी बनाएका थिए । यसका अतिरिक्त बीपीले नेपाली कांग्रेसलाई ‘सोसलिष्ट इन्टरनेशनल’ को सदस्यता समेत दिलाए । अमेरिकी अर्थनीतिको विरोध गर्दै नेपाललाई पश्चिमा पूँजीवादी अर्थतन्त्रको प्रभाव र सिकोबाट जोगाउँदै मौलिक तरिकाको सानो र ग्रामीण अर्थतन्त्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

यी कारणले गर्दा बीपीलाई तेस्रो धारबाट हेर्नेहरूको तर्क पनि निकै बलियो हुन्छ । यो धारको अन्तर्राष्ट्रिय सम्बन्ध भने कुनै न कुनै रूपमा विश्व समाजवादी आन्दोलन विशेषतः एडबर्ड बर्नस्टिन र कार्ल काउत्स्कीको वैचारिकी र सैद्धान्तिक अवधारणासँग नजिक हुन पुग्दछ । यथार्थमा बीपीको वैचारिक विरासत यी तीनमध्ये कुन हो ?

पहिलो धारका तर्कलाई पनि सजिलै अस्वीकार गर्न सकिन्न किनकि शाब्दिक तहमा अझै अभिलेखित छन् । ती बीपीले भन्दै नभनेका, बोल्दै नबोलेका, राजनीतिक व्यवहारमा अभ्यास नै नगरेका कुरा थिएनन् ।

दोस्रो दृष्टिकोणको बीपी आज पनि कांग्रेसको जीवन व्यवहारमा जीवन्त छ । २०४८ पछिका गिरिजाप्रसाद कोइरालाका आर्थिक नीतिहरूलाई चुनौती दिने कांग्रेसजन एकदमै सीमित थिए । गणेशमान सिंह-किसुनजीको कोेइरालासँगको राजनीतिक तथा गुटगत संघर्ष निःसन्देह निकै पेचिलो थियो तर के उनीहरूको आर्थिक नीति गिरिजाप्रसादको भन्दा फरक थियो ? त्यो थियो नै भने पनि प्रामाणिक छैन । रामचन्द्र पौडेलले समाजवादको कुरा गर्दा त्यतिखेरका नैतिक दायित्वबाट उम्किन मिल्दैन ।

यो नैतिक आधार प्रदीप गिरि, जगन्नाथ आचार्य, ढुण्डीराज शास्त्री जस्ता केही सीमित कांग्रेसजनसँग मात्र रहन्छ, जो आज कांग्रेस परिदृश्यमा आफैं सीमान्त व्यक्तित्व बनेका छन् ।

कांग्रेसप्रति सहानुभूति राख्ने डा. देवेन्द्रराज पाण्डेले लोक दल खोलेर वा कांग्रेस परित्याग गरी हरियाली पार्टी खोलेका कुवेर शर्माले थोरै त्यो धारको नैतिक विरासत बोकेको देखिन्छ, जो प्रभावशाली भएन ।

नेपाली कांग्रेसको औपचारिक तथा दस्तावेजीय राजनीतिक लाइन अहिले पनि उपर्युक्तमध्ये तेस्रो धार नै होला । कांग्रेसले अझै आफूलाई लोकतान्त्रिक समाजवादी पार्टी भन्न छोडेको छैन । समाजवादी अन्तर्राष्ट्रियको सदस्यता परित्याग गरेको छैन ।

बीपीलाई साँचो श्रद्धा गर्नु बीपीको नाम जप्नु, उनले के भनेका थिए भनेर शब्द-शब्द, वाक्य-वाक्य पक्रिंदै वैचारिक पन्थहरू निर्माण गर्नु हैन, नाम भजाएर राजनीतिक करिअरको रोटी सेक्नु हैन, आफ्नो युगको यथार्थ र आवश्यकतामा बीपीलाई विनिर्माण गर्नु हो
हरेक शक्तिशाली चिन्तकको मृत्युपछि त्यसबाट विभिन्न धारा-उपधाराको जन्म भए जस्तो, विभिन्न पन्थ र सम्प्रदायको उदय जस्तो बीपी वैचारिकीबाट उपर्युक्त तीन धारको जन्म हुनु र सबैले आफूलाई साँचो बीपीवादी दाबी गर्नु अस्वाभाविक हैन ।

कुन बीपीलाई पछ्याउने ? नरम दक्षिणपन्थी बीपी ? उदार लोकतान्त्रिक बीपी कि प्रजातान्त्रिक समाजवादी बीपी ? यसबारे भ्रमित रहनु नै मूलतः ‘कांग्रेसजनको बीपी-द्विविधा’ हो । यो द्विविधाबाट आज पनि कांग्रेस मुक्त छैन । तसर्थ कांग्रेसको महाधिवेशनमा कहिले हिन्दु राष्ट्रको माग उठाउने र राजा फाल्दा कम्युनिस्टहरू हावी भएको गुनासो गर्नेहरूको ठूलै जमात देखा पर्दछ भने कहिले कांग्रेस यस्ता पक्षलाई बेवास्ता गरेर अघि बढ्न दृढ बन्छ ।

कांग्रेसजनहरू जबसम्म यो द्विविधाबाट मुक्त हुनसक्ने छैनन्, न उनीहरूले बीपीलाई न्याय गर्न सक्नेछन्, न स्वयं आफूलाई न्याय गर्न सक्नेछन् न देश र जनतालाई न्याय गर्न ।

यी आधार बीपी-विमर्शका ऐतिहासिकता हुन् । यो वैचारिक विभाजन विगत हो । केही हदसम्म वर्तमान पनि हो । तर, भविष्य हैन ।

विगत र वर्तमानमुखी राजनीतिले नेपालको कहिल्यै भलो गर्न सकेको देखिन्न । २०४६ सालयताको विगत ३३ वर्षको अनुभवले भन्छ- साविक चिन्तन प्रणाली, वैचारिकी र विमर्शहरूको पुनरावृत्तिबाट कुनै परिणाम आउनेवाला छैन । ३३ वर्षमा जुन परिणाम आएन, त्यसैकोे घिसेपिटे भर्सन दोहोर्‍याएर नयाँ परिणामको आशा निरर्थक हुन्छ । पुरानो अभ्यास दोहोर्‍याएर नयाँ परिणाम आउँछ भन्ने आशा सर्वथा मूर्खतापूर्ण हो । तसर्थ आजको पुस्ताले बीपीलाई चौथो, भविष्यमुखी आयामबाट हेर्न जरूरी छ ।

राजतन्त्र हिजोको कुरा थियो । त्यो न आजको कुरा हो, न भोलिको कुरा । जतिखेर बीपीहरू संसदीय र प्रतिनिधिमूलक लोकतन्त्रको कुरा गर्दैथिए, त्यतिखेर सहभागितामूलक तथा समावेशी लोकतन्त्रको अवधारणा स्विट्जरल्याण्ड जस्ता केही देशमा सीमित थियो, विश्वभरि प्रचारित र लोकप्रिय भइसकेको थिएन ।

जुन साम्यवादलाई बीपीले राजतन्त्रभन्दा ठूलो जोखिम मानेर संयुक्त जनआन्दोलन गर्न अस्वीकार गरेका थिए, त्यो बेलाको साम्यवाद त्यस्तै थियो । सन् १९९० को दशकमा पूर्वी तथा मध्य युरोप र सोभियत संघमा एकदलीय कम्युनिस्ट प्रणाली पतन भएपछि मात्र नेपालका कम्युनिस्टहरू ‘बहुदलीय जनवादी’ भएका हुन् ।

बरु राजा संवैधानिक भएको बीपीले बेलायत, जापानलगायत धेरै देशमा देखेका थिए तर कम्युनिस्टहरू बहुदलीय लोकतन्त्रवादी भएको उदाहरण संसारमा विरलै थिए ।

हिजो कम्युनिस्टहरू एकदलीय प्रणालीमा विश्वास गर्थे, गौरव गर्थे, आज त्यो कुरा कसैले उठाइदियो भने लाजले मुख छोप्छन् र त्यो प्रसंगबाट अन्यत्र भाग्न र पलायन हुन चाहन्छन् । यो बदलाव वा यथार्थलाई आत्मसात् नगरिकन बीपी निरपेक्ष रूपमा कम्युनिस्ट विरोधी थिए भन्नु उचित हुँदैन ।

कुनै पनि विचारकका आफ्नै ऐतिहासिकता, नियति र सीमा हुन्छन् । ती उसका वैयक्तिक नियति र सीमा नभएर काल-दिक् सम्बन्धले सृजना गर्ने स्थिति वा उपक्रम पनि हुन् ।

चौथो, भविष्यमुखी आयामबाट हेर्दा बीपी चिन्तन र व्यक्तित्वको एक भिन्नै विराट रूप र परिदृश्य सामुन्ने आउँछ । त्यो माथिका तीनवटै वैचारिक धारभन्दा फरक हुन्छ । त्यसले यस्ता प्रश्नहरू सृजना गर्दछ ।

एक-बीपी लोकतन्त्रवादी थिए । उनले लोकतन्त्रको परिकल्पना आफ्नो समय, अध्ययन र चेतनास्तरमा गरे । आज भए बीपी कस्तो लोकतन्त्रको कल्पना गर्थे ? आजको लोकतन्त्रको सबैभन्दा विकसित र सम्भावित रूप के हो ? निःसन्देह त्यो प्रत्यक्ष, सहभागितामूलक, समावेशी, समानुपातिक र सुसंस्कृत लोकतन्त्र हो ।

दुई- बीपीले राष्ट्रियताको कुरा गरे । राष्ट्रियता आजको सन्दर्भमा के हो ? निःसन्देह त्यो बहुसांस्कृतिकवाद हो । सबै जाति, भाषा, धर्म, संस्कृति, मनोविज्ञानका जनताको पहिचान, अधिकार, समावेशिता, सहभागिता, साझेदारी र त्यसबाट उत्पन्न हुने एकता नै आजको राष्ट्रियता हो ।

तीन- बीपीले समाजवादको कुरा गरे, आजको समाजवाद के हो ? निरपेक्ष बजारवाद वा उदारवाद कुनै अर्थमा समाजवाद हैन । त्यसैगरी विज्ञान, प्रविधि, यान्त्रिकी वा प्राग्-औद्योगिकीलाई अस्वीकार गरी चर्खा कात्ने गान्धीवाद आजको समाजवाद हैन । आजको समाजवाद सामाजिक उत्तरदायित्व सहितको बजार अर्थतन्त्र हो । सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास, रोजगार, सामाजिक न्याय र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार जस्ता आधारभूत सेवागत क्षेत्रहरू राज्यको दायित्वमा हुने र बाँकी उद्यमशीलता स्वच्छ प्रतिस्पर्धासहितको निजी क्षेत्रमा हुने अर्थतन्त्र हो ।

चार- बीपीले धार्मिक स्वतन्त्रताको कुरा गरे । आजको धार्मिक स्वतन्त्रता के हो ? के कुनै धर्मको धार्मिक राज्यलाई धार्मिक स्वतन्त्रता भनिन्छ ? ‘धर्म निरपेक्ष’ भएर के ‘पाप सापेक्ष’ हुने ? नेपालको हकमा धर्मको अर्थ कुनै पन्थ वा सम्प्रदाय हो कि प्राकृतिक, नैतिक मानवीय कर्तव्य ? पश्चिमाहरूले ‘सेक्युुलरिज्म’ लाई जुन अर्थमा प्रयोग गर्थे, त्यो समस्या नेपालमा थियो र ? धार्मिक स्वतन्त्रताको अर्थ राज्यले ‘धार्मिक स्वतन्त्रता’ लाई लोकतान्त्रिक स्वतन्त्रताको एक महत्वपूर्ण अवयवको रूपमा स्वीकार गर्नु हो । न त्यो कुनै धर्म-सम्प्रदायको धार्मिक राज्य हो न त्यो धर्मनिरपेक्षता ।

बीपीलाई साँचो श्रद्धा गर्नु बीपीको नाम जप्नु, उनले के भनेका थिए भनेर शब्द-शब्द, वाक्य-वाक्य पक्रिंदै वैचारिक पन्थहरू निर्माण गर्नु हैन, नाम भजाएर राजनीतिक करिअरको रोटी सेक्नु हैन, आफ्नो युगको यथार्थ र आवश्यकतामा बीपीलाई विनिर्माण गर्नु हो ।

आजसम्मका बीपी समर्थक र विरोधीहरूले, बीपीलाई भजाउने र उपयोग गर्न चाहनेहरूले गर्न नसकेको काम यही हो । र, यो काम अब नयाँ पुस्ताका वैकल्पिक राजनीति गर्नेहरूले गर्न सक्नुपर्दछ ।

Leave A Reply

Your email address will not be published.