अन्याय नहुने गरि सडक चौडा गर्न धनगढीका घरधनीको माग

धनगढी: धनगढी उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक ३० मिटर चौडा बनाउने भन्दै संरचना हटाउन भनेको छ। सडक निर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन(डिपीआर) तयार गरी टेण्डर गर्नुपर्ने भएकाले असोज मसान्तभित्र सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन उपमहानगरपालिकाले भनेको थियो।

भदौ १३ गते नै उपमहानगरपालिकाले पत्राचार गर्दै मुख्य सडकको ३० मिटरभित्र पर्ने संरचना खाली गर्न भनेको हो। तर, सडकको दाँया–बाँयाका सयौं घर भत्काउनुपर्ने भन्दै केही घर धनीहरुले विरोध गरेको छन्। उनीहरुले पूरै जग्गा सडकमा जाने भन्दै उपमहानगरले घर धनीसँग छलफल नगरी पत्राचार गरेको गुनासो गरेका हुन्।

मुख्य सडमा थोरै जग्गा भएकाहरुकाहरुको उठीबास हुने गरि सडक चौडा गर्न नहुने व्यवसायी नरेश श्रेष्ठले बताउँछन्। ‘सडक ३० मिटर बनाए मेरो घरमा बस्ने ठाँउ नै रहन्न, हाम्रो पनि त व्यवस्था हुनुपर्यो। म एक जनाको मात्रै समस्या होइन, कैलाली पुलदेखि क्याम्पस रोडसम्मका व्यापारीको कुरा आउँछ,’ उनले भने, ‘मेरो बुझाइमा नाली साँघुरो भएकाले नाली बनाउँन केही फुट जग्गा दाँयाबाँया दिन सकिन्छ।’

पत्राचार गर्नुपूर्व प्रभावित र विस्थापित हुने घर धनीको संख्या यकिन गरेर संरचना खाली गर्न छलफल गर्नुपर्ने माग घरधनीहरूको छ। सडक विस्तार र विकास विरोधी आफूहरू नभएको तर सडक क्षेत्र विस्तार हुँदा प्रभावित हुने नागरिकसँग पहिले समन्वय गर्नु आवश्यक रहेको तर्क उनीहरुले गरेका हुन्।

घर तथा जग्गाधनीसँगको छलफल र सहकार्यपछि उपमहानगरपालिकालाई सडक विस्तारको काममा सहज हुने धारणा घरधनीहरूले राखेका छन्। प्रभावितलाई लखेटेर भन्दा रिझाएर उपमहानगरपालिकाले काम गर्नुपर्ने घरधनी पुष्पराज जोशीले बताए। ‘हामी यो सडक चौडा बनाउने अभियानलाई एकदमै समर्थन गर्छौँ,’ उनले भने, ‘घर जग्गा खाली गर्न पत्राचार गर्नुपूर्व सबैसँग छलफल गरेर उपयुक्त निकास निकाल्नु पर्छ भन्ने हाम्रो माग हो।’

मुख्य सडकका घरधनीले उपमहानगरपालिकासँग संवाद गर्न एक समन्वय समितिसमेत गठन गरेका छन्। समन्वय समितिले सडक क्षेत्रमा घर भएका नागरिकसँग छलफल गरेर सबैलाई मान्य हुने प्रस्ताव तयार गरी उपमहानगरसमक्ष प्रस्तुत गर्न काम थालेको छ।

घर धनीलाई मर्का नपर्ने गरी काम हुनुपर्ने समन्वय समितिका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए। ‘हाम्रो धनगढी बन्नुपर्छ, बनाउनु पर्छ, गोपाल हमालले सडक बनाउने आँट गर्नुभएको छ। त्यसकारण हामी शनिवार बसेर सल्लाह गर्दैछौँ,’ उनले भने, ‘सडक बनाउनेमा सबै सकारात्मक छन्। १५ मिटर नभइ केही कम गरेर पनि सडक भने बनाउनैपर्छ।’

उनीहरुले सबैका समस्या समाधान गरेर मात्रै सडक विस्तार गर्नुपर्ने माग राखेका हुन्। धनगढीको मुख्य सडक व्यवस्थापन गर्न सबैको रायअनुसार उपमहानगरपालिकाले काम गर्नुपर्ने घरधनीहरूको सुझाव छ।

नगरप्रमुख गोपाल हमालले भने समन्वय समितिलाई घरधनीको तर्फबाट उपयुक्त प्रस्ताव ल्याउन आग्रह गरिएको बताएका छन्। उनले सडकको मापदण्ड नघट्ने गरि जेजति सहुलियत दिन सकिन्छ त्यो दिन उपमहानगर तयार रहेको बताए।

यता केही घरधनीहरुले भने स्वस्फूर्त रुपमा घर भत्काएर उपमहानगरपालिकालाई सहयोग गर्ने प्रतिवद्धता गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.