धनगढी विमानस्थल विस्तार ‘हात्ती आयो हात्ती आयो फुस्सा’, चर्चा कमाउन आलेले गरेको ‘स्टन्ट’

वीरेन्द्र भट्ट, धनगढीः २०७८ पुस ११ गते तत्कालीत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गर्‍याे।

धनगढीलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५० बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धाउनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने भनियो। तर, स्रोत सुनिश्चितता बिना विनियोजन गरिएको सो बजेट अहिले आएर काम नलाग्ने भएको छ। एक अर्ब बजेटको हवाला दिएर तत्कालीन मन्त्रीले चर्चा कमाउन खोजेको विषय अहिले आएर खुलेको हो।

चालू आर्थिक वर्षका लागि सरकारले कुनै बजेट नै विनियोजन नगरेको अवस्था रहेको गेटा विमानस्थल निर्माण तथा व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टले गुनासो गरे। ‘विमानस्थल विस्तारका लागि अध्ययन अनुसन्धान गर्ने नाममा कमिशन, भत्ता तथा राज्यकोषको दोहन गर्ने कामबाहेक यसअघि गरिएका सबै चर्चा झुटो भएको अनुभूति भइरहेको छ’ उनले भने। विमानस्थल विस्तारका लागि स्थानीयको जग्गा खरिदबिक्री कार्य रोक्ने काम मात्र भएको उनले बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रिपरिषद्ले पास गरेपनि चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको छैन। तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले गत पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो।

तर, स्रोत सुनिश्चितताबिना त्यसबेला एक अर्ब बजेट विनियोजन गरेर काम अगाडी बढाउन भनिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए। तर, चालु आर्थिक वर्षका लागि सरकारले बजेट नै विनियोजन नगरेपछि विमानस्थल विस्तारको काम अघि बढ्न नसकेको उनको भनाई छ। ‘स्थानीयको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब लाग्छ। यसअघि एक अर्ब छुट्याएको भनिएको बजेटको पनि स्रोत सुनिश्चितता नभएपछि जग्गा अधिग्रहणको काम अघि बढाउन सकिएको छैन’ उनले भने, ‘प्राधिकरणले पनि अहिलेका लागि यो कार्यलाई स्थगित गरेको छ।’

रियल पाथ इन्जिनियरिङ नामक कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको विमानस्थल कार्यालयको दाबी छ। मुलुक संघीयतामा जानुअघि धावनमार्ग पक्की नबनाएको भन्दै प्रदेशवासीले सांकेतिक एक पैसे अभियान चलाएका थिए। त्यसपछि मात्र प्राधिकरणले बजेट विनियोजन गरेर १ हजार ८ सय मिटरको धावनमार्ग बनाएको थियो।

यात्रुहरूको चाप बढीरहेको र पश्चिम मुलुकबाट आउने जहाजका लागि धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको बनाउने विषय भने अहिले आएर स्थगित गरिएको छ। स्थानीयले भने विमानस्थल विस्तारको नाटक रचेर आफूहरुको जग्गा खरिदबिक्री रोक्ने काम भएको भन्दै आक्रोश पोखेका छन्। नेताहरुले चर्चा कमाउन एक अर्बको हवाला दिँदै ठग्ने काम गरेको गुनासो उनीहरुले गरेका छन्।

४५ मिटर चौडाइको दुई हजार ५५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्यांगर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चक्रपथसहितका पूर्वाधार निर्माणको विषय गुरुयोजनामा छ। विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन थप २५८ दशमलव २५ बिघा जमिन आवश्यक पर्छ। अहिले ८४ बिघा मात्र छ। त्यसमा ३० मिटर चौडाइ र १८ सय मिटर लम्बाइ भएको धावनमार्ग छ।

धनगढीको आकाशको मार्गलाई ‘एल ६२६’ भनिन्छ। यो मार्ग हुँदै दिल्लीसहित कतार, दुबई, दोहा टर्कीलगायत मुलुकबाट जहाजहरू उडान भर्छन्।

Leave A Reply

Your email address will not be published.