‘सुन्दर’ धनगढी निर्माणका लागि नगरबासीले मुख्य सडकका नीजि संरचना आफैं हटाउने

धनगढीः धनगढी बजारका नगरबासीले मुख्य सडकका नीजि संरचना आफैं हटाउने भएका छन्। मुख्य सडकका घरधनीले संरचना हटाएर कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तारमा सहयोग गर्ने घोषणा गरेका हुन्।

कैलालीपुलदेखि हुलाकी सडकसम्मको धनगढीको मुख्य सडक विस्तार गर्ने उपमहानगरको योजना छ। नगरबासीले व्यक्तिगत घर तथा संरचना हटाउने स्वःघोषणा गर्न थालेका छन्। उपमहानगरपालिकाले धनगढीको पुरानो बजारको भविष्यका लागि सहयोग गर्न नागरिकलाई अपिल गरेको छ।

मुख्य सडक विस्तार गर्ने उपमहानरपालिकाको योजनामा डिपीआर तयार गर्न परामर्शदाताले सर्वेको काम गरिरहेको छ। मुख्य सडक ३० मिटर चौडा बनाउने योजनाका साथ काम भइरहेको बताइएको छ। सडक विस्तार गर्ने योजना अगाडि बढाएसँगै सडक छेउको घर तथा संरचना खाली गर्न उपमहानगरले सूचना जारी गरेको छ।

नगरवासीले पनि सडक विस्तारमा सहयोगी बन्ने घोषणा गरेका छन्। उनीहरुले धनगढीको मुख्य सडक विस्तार गर्न आवश्यकता भएकाले घर तथा संरचना खाली गर्ने बताएका हुन्। उपमहानगरको नापी टोलीले लगाएको चिन्ह भित्रको संरचना खाली गर्ने चौलानी ग्रुपका सञ्चालक मानसिंह साउँदले बताए।

‘हामीले विकासका लागि त्याग गर्न तयार हुनुपर्छ,’ उनले भने, ‘केही वर्ष पहिले बनाएको भवन भत्काउँदा घाटा त हुन्छ। तर, सुन्दर धनगढीका लागि संरचना हटाउन हामी तयार छौँ।’ कैलालीपुलदेखि हुलाकी सडकसम्म करिव २ दशमलव ७ किलोमिटर सडकलाई अत्याधुनिक ढंगले निर्माण गर्ने धनगढी उपमहानगरपालिकाको योजना छ।

सडकमा पार्किङ समस्या हुन नदिने गरी फुटपाथ तथा साइकल लेन सहितको सडक निर्माण गरिने छ। धनगढी अत्तरिया सडक ६ लेनको निर्माण भएको छ। हुलाकी सडक चार लेनको निर्माण हुँदै छ। तर, धनगढीको मुख्य सडकको साँघुरो सडकले बजारको भविष्य संकटमा छ। तसर्थ सडकलाई आवश्यक पर्ने जग्गा छोड्न तयार रहेको बुद्धमन्दिर अगाडि घर भएका निर्माण व्यवसायी रुद्र पन्तले बताए।

‘सडक फराकिलो बनाउँदा सबैलाई भोलिका दिनमा फाइदा हुन्छ,’ उनले भने, ‘उपमहानगरपालिकालाई सडक निर्माण गर्न संरचना हटाएर मात्रै होइन अन्य सहयोग गर्न पनि म तयार छु।’ धनगढीको मुख्य सडक विस्तारमा उपमहानगरपालिकालाई सहयोग गर्ने नगरबासीले अग्रसर भएका छन्। शुक्रबार धनगढी उपमहानगरपालिकालाई सडकको क्षेत्राधिकार छुट्याउन लगाएर भौतिक संरचना आफैं खाली गर्ने उनीहरुले घोषणा गरेका हुन्।

सुन्दर, समृद्ध र विकसित सहरका लागि लाखौं लगानी गरेर भर्खरै निर्माण गरेको भवन भत्काउन तयार रहेको व्यवसायी सञ्जय चौधरीले बताए। ‘भत्काएर नै नयाँ बन्ने हो। तसर्थ सडक विस्तार गरेर धनगढीलाई समृद्ध सहर बनाउन संरचना आफैं खाली गर्न तयार भएको हुँ,’ उनले भने, ‘भर्खरै निर्माण गरेको संरचना भए पनि यो ठाउँको विकासका लागि त्याग गर्नुपर्छ।’

नयाँ सडक बन्दा पूराना घर सडकभन्दा तल पर्छन। धनगढीका अन्य क्षेत्रमा फराकिला र सुविधासहितका सडक निर्माण भएर मुख्य बजारको भविष्य संकटमा पर्ने देखिएको छ। प्रमुख र सबैभन्दा बढी कारोबार हुने बजारको भविष्यका लागि पनि फराकिलो सडक अनिवार्य भएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको तर्क छ।

‘मुख्य सडक बनाउँदा पूराना घर तल पर्छन्, त्यसपछि नयाँ बनाउन भत्काउनै पर्छ,’ उनले भने, ‘सडकमा जग्गा पर्ने व्यक्तिलाई उपमहानगरले विभिन्न सहुलियत दिन सक्छ, सबैसँग छलफल गरेर सडक विस्तारको काम गरिने छ।’ धनगढीको मुख्य सडक विस्तार गर्न सुदूरपश्चिम सरकारले पनि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ।

Leave A Reply

Your email address will not be published.