धनगढीको बसपार्क साँघुरो बन्यो, नयाँ बसपार्क निर्माणको योजना अलपत्र

धनगढीः धनगढीमा यातायातका साधनका लागि निर्माण गरिएको ४४ वर्ष पूरानो बसपार्क छ। एक पटकमा ७० बस मात्र अटाउने त्यो बसपार्क पछिल्लो समय साँघुरो भएको छ। साँघुरो बसपार्कका कारण अन्य सार्वजनिक यातायातका लागि स्थान अभाव छ।

प्रदेशको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र धनगढीमा बसपार्कको अभावले यातायात व्यवसायी तथा यात्रुहरुले दुःख पाएका छन्। धनगढीको साँघुरो बसपार्कको प्रवेश र निकासद्वारमा एउटा बस ओहोरदोहोर गरिरहेका बेला पैदल यात्रीले समेत सास्ती भोग्नु परेको छ।

२०३६ सालमा धनगढी–महेन्द्रनगर ३/४ ओटा बस सेवा सुरु हुँदा १९ कट्टा क्षेत्रफलमा निर्माण गरिएको धनगढी बसपार्क २०५० सालमा कालोपत्र गरिएको थियो। सहरी विकास कार्यालयले पुनः उक्त बसपार्क स्तरवृद्धि गर्दै ७० बस क्षमताको बनाइएको छ। मुलुकका विभिन्न जिल्लाबाट दैनिक १५ सयको हाराहारीमा बसहरु धनगढी आउने र छुट्ने गरेका छन्। बससँगै यात्रुको चाप बढ्दै जाँदा समेत नयाँ बसपार्क बनाउने विषय अझै अघि बढ्न सकेको छैन।

यता धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी सामुदायिक वनमा बसपार्क निर्माणको योजना सफल बन्न सकेको छैन। वडा नम्बर ३ को कालिकानगरमा बसपार्क निर्माणका लागि १५ बिघा जग्गा भाडामा लिन संघीय वन मन्त्रालय पुगेको फाइल पनि फिर्ता आएको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए। उनले उपमहानगरपालिकाले पुनः वन ऐन अनुसार जग्गाको भोगाधिकारका लागि फाइल संघीय मन्त्रीपरिषदमा पठाउने बताए।

उपमहानगरपालिकाले वन ऐनमार्फत जग्गाको भोगाधिकारका लागि संघीय मन्त्रीपरिषदमा फाइल पुनः पठाउने भएको छ। तर, विस्तृत योजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकनको काम भने बाँकी नै छ।

उपमहानगरपालिकाले बसपार्कका लागि आवश्यक ५ विघा जग्गाको भोगाधिकारका लागि वन ऐन अनुसार फाइल संघीय मन्त्रीपरिषदमा पठाउने बताइएको छ। धनगढी उपमहानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर दीजराज भट्टले संघीय वन मन्त्रालयले फाइल पठाएको बताए।

Leave A Reply

Your email address will not be published.