बैतडीकी ७२ वर्षीया चित्रकार भानादेवी

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ वर्षकी भइन्। उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टिङ गरिरहेकी भेटिन्छिन्।

भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उतार्न सक्छिन्। उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन्। बाल्यकाल मै पेन्टिङको काम सुरु गरेको उनले बताइन्। उनी एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन्।

माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन्। भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौँसम्मका सार्वजनिक स्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए। उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ। उहाँले बैतडीदेखि काठमाडौँसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ। उहाँले कोर्न खोजेका चित्र एक पटक हेरे मात्रै पुग्छ। उहाँसँग राम्रो क्षमता छ। केही ठाउँमा पुरस्कृत समेत हुनुभएको छ। उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौंस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ।’

भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन्। उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन्। कसैले स्व इच्छाले दिएको रकम र रङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ।

गाउँ ठाउँका कसैले पेन्टिङका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन्। आफूसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन्। साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाइ छ। -न्युज कारखाना

Leave A Reply

Your email address will not be published.