धनगढी उपमहानगरलाई टेर्दैनन् निर्माण कम्पनी, ४५ योजना अलपत्र

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका र एड्भेन्चर निर्माण कम्पनीबिच २०७७ असार १४ मा सहिदगेट–राजघाट सडक निर्माणको ठेक्का सम्झौता भयो। उक्त सडक निर्माणको अवधि सकिएको एक वर्ष पूरा भएको छ। तर, ३ करोड ४७ लाखको सहिदगेट–राजघाट सडकको नाली निर्माणको काम पनि पूरा भएको छैन। एक दशमलव २ किलोमिटर सडक निर्माण कम्पनीले अलपत्र पारेको हो।

निर्माण कम्पनीलाई धनगढी उपमहानगरपालिकाले पटक–पटक पत्राचार गर्दा पनि जबाफ आएको छैन। निर्माण कम्पनीका प्रतिनिधि तथा सञ्चालनकहरु उपमहानगरका इन्जिनियरहरुको फोन पनि उठाउदैनन्।

धनगढी उपमहानगरपालिकाको पूर्वाधार शाखा प्रमुख इन्जिनियर दीजराज भट्टले निर्माण व्यवसायीले फोन पनि नउठाउने समस्या रहेको बताए। ‘निर्माण कम्पनीहरुले तीन÷चार वर्षदेखि योजनाहरु अलपत्र पारेका छन्। ती योजनाहरुलाई नयाँ कार्यतालिका बनाएर, काम गर्नलाई समय दिने। त्यो कार्यतालिका अनुसार काम भएन भने तुरुन्त कारबाही गर्ने निर्णय भएको छ।’ चन्द्रशेखर मल्ल सञ्चालक रहेको निर्माण कम्पनीहरुले सबैभन्दा बढी धनगढीका योजनाहरु अलपत्र पारेको छ। सहिदगेट–राजघाट सडक त एक उदाहरण मात्र हो।

धनगढी उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेका ४५ पूर्वाधार योजनाको काम अलपत्र छ। पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले योजना अलपत्र छोडेका हुन्।

धनगढी उपमहानगरपालिकामा सडक र विद्यालयका भवन निर्माणका योजना अलपत्र पारिएका छन्। आर्थिक वर्ष २०७४/०७५ देखिका योजनाको काम पूरा भएको छैन। केही योजनमा भने उपमहानगरपालिकाले बजेट विनियोजन नगरेकाले काम पूरा नभएको हो। चालु आर्थिक वर्ष २०७९÷०८० मा पुराना योजनाको काम पूरा गर्न २६ करोड विनियोजन गरिएको छ।

निर्माण सामग्रीको मूल्यवृद्धि भएको भन्दै कम्पनीले अटेरी गर्दै आएका छन्। धनगढी उपमहानगरपालिकाले बुधबार निर्माण व्यवसायी, प्राविधिक कर्मचारीसँग छलफल गर्दै समयमा काम पूरा नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको छ।

नगर प्रमुख गोपाल हमालले तोकिएको समय सीमाभित्र गुणस्तरीय पूर्वाधार निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिएका छन्। ‘उपमहानगरपालिकाले अब जति पैसा छ, त्यति मात्र ठेक्का लगाउँछ। ठेक्का धेरै लगाउने, बजेटको सुनिश्चितता नहुने ? अनि हाम्रा निर्माण व्यवसायी पनि मर्न लागे’ उनले भने, ‘उहाँहरुले कुरा राख्नुभएको छ। भुक्तानी भएन भने कम्पनी पनि डुब्नसक्छ।’

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले चालु आर्थिक वर्षका लागि नयाँ पूर्वाधारका योजनाहरु नरहेको बताए। उनले पूराना योजना निर्माणको काम पूरा गर्न बजेट विनियोजन गरिएको बताए। नगर प्रमुख हमालले भने, ‘काम हुँदा पनि भुक्तानी नहुने कुरा हामीले सुधार गरेका छौं। यो वर्ष हाम्रो घाटा बजेट छैन। हामीसँग जति पैसा छ, त्यति पैसाले मात्र काम गर्ने बनाएका छौ। समय र गुणस्तर महत्वपूर्ण छ। यो कुरा निर्माण कम्पनीका साथीहरुले ध्यान दिनुहोला। तपाईंहरु घटाघटीमा ठेक्का नहाल्नु होला।’

निर्माण कम्पनीले टेर्न छोडेकाले उपमहानगरपालिकाले कारबाहीको नीति लिएको छ। धनगढी उपमहानगरपालिकाले सबै निर्माण कम्पनीलाई फेरि समय थप गर्ने र तोकिएको समयमा काम पूरा नभए कालोसूचीमा राख्नेसम्मको कारबाही गर्ने नीति लिएको हो।

Leave A Reply

Your email address will not be published.