विनोद शाही मृत्यु-प्रकरण: अछाममा अदालतसहित सरकारी कार्यालय परिसरमा निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकामका सरकारी कार्यालय परिसरमा निषेधित क्षेत्र घोषणा गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको मृत्युको विषयमा भइरहेको द्वन्द्वलाई लिएर जिल्ला अदालत, सरकारी वकिलको कार्यालय लगायतमा असुरक्षा बढेको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ।

‘कार्यालयमा तोडफोड तथा आगजनी गर्ने, कर्मचारीहरूलाई पटक–पटक धम्की दिने, दैनिक कार्यालयको कामकाजमा बाधा अवरोध गर्ने लगायत कुनै पनि क्रियाकलाप नगर्न मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकिल कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्र कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन,’ भनिएको छ।

साथै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न सर्वसाधारणमा जानकारी गराइएको छ।

उक्त निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारबाही हुने व्यहोरासहित जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले शाहीको घटना विषयमा भइरहेको द्वन्द्व कम नभएसम्म यो आदेश जारी रहने बताए।

गएको जेठ २१ गते मृत फेला परेका शाहीको हत्याको आरोपमा किटानी जाहेरी परेपछि पञ्चेदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ परेका छन्।

हत्या आरोपमा १३ जनाको नाममा किटान गरी आफन्तले दिएको जाहेरीका आधारमा अरू ६ जनालाई प्रहरीले खोजिरहेको छ।

मृतक विनोद शाही कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। उनी गत जेठ १७ गतेदेखि बेपत्ता थिए। हराएको पाँच दिनपछि जेठ २१ गते उनको शव घर नजिकैको जंगलमा फेला परेको थियो।

घटनाको अनुसन्धान सिआइबीको टोलीले समेत गरिरहेको छ। घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गर्दै मृतकका आफन्तले आन्दोलन समेत गरिरहेका छन्।

वैशाख ३० गतेको स्थानीय तह चुनावका विषयमा नेकपा एमाले र कांग्रसका कार्यकर्ताबीच झडप भएको र त्यसपछि मृतक बेपत्ता भएको भन्ने एक पक्षको भनाइ छ।

मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप छ।

Leave A Reply

Your email address will not be published.