डोटी-डडेल्धुराबाट कहिले हुन्छ लाइसेन्स वितरण ?

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले डोटी र डडेल्धुरामा यातायात सेवा कार्यालय स्थापना गरेको ३ वर्ष भयो। सवारी चालक अनुमती पत्र लाइसेन्स वितरण गर्नका लागि उक्त सेवा कार्यालयहरु स्थापना गरिएको हो। तर सुदूरपश्चिममा लाइसेन्स वितरण गर्ने काम धनगढी र महेन्द्रनगरको यातायात कार्यालयले मात्रै गर्दै आएका छन्।

प्रदेश भरका नागरिकले धनगढी र महेन्द्रनगर पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि पहाडी दुई जिल्लामा पनि सेवा कार्यालय स्थापना गरिएको थियो। लामो समयसम्म कामविहीन भएका उक्त कार्यालयबाट अहिले केही सेवाहरु भने सुचारु गरिएको छ। तर लाइसेन्स वितरण गर्न भने अझै सुरु नभएको यातायात व्यवस्था सेवा कार्यालय डोटीका प्रमुख पूर्णबहादुर खड्काले बताए। ‘लाइसेन्स वितरणका लागि प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘विभागले अनलाइन फरामका लागि कोटा निर्धारण गरेपछि आवेदन दिन सकिन्छ।’

डोटीको यातायात कार्यालयले आफ्नै ट्रायल सेन्टर पनि निर्माण गरिसकेको छ। अन्य नविकरण तथा कर भुक्तानीका कामहरु उक्त कार्यालयबाट हुने गरेको बताइएको छ। तर प्रदेशमा प्रमुख समस्याको रुपमा देखिएको लाइसेन्स वितरणको काम भने उक्त कार्यालयबाट सुरु हुन सकेको छैन। डडल्धुराको सेवा कार्यालयले पनि ट्रायल सेन्टर भाडा लिएको छ। अन्य कामहरु सुरु गरेको दाबी गरेको छ।

तर उक्त कार्यालय सेवालाई चुस्त बनाउनका लागि प्रदेश सरकार पनि गम्भीर रुपमा लागेको छैन। जसका कारण कार्यालय स्थापनाको तीन वर्षसम्म पनि लाइसेन्स वितरणको प्रक्रिया सुरु भएको छैन। यातायात सेवा कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायले पनि लाइसेन्स वितरण गर्न केही समय लाग्ने बताए। ‘हामी तयारी अवस्थामा छौं। ट्रायल सेन्टर पनि भाडामा लिने कुरा भएको छ। तर विभाग बाटै अनलाईन फरामका लागि अनुमति पाइएको छैन,’ उनले भने।

सुदूरपश्चिम प्रदेश सरकारले पनि बेला बेलामा उक्त कार्यालयबाट लाइसेन्स वितरण हुन्छ भनेर आम नागरिकलाई झुक्याउने गरेको छ। पछिल्लोपटक पनि आगामी आर्थिक वर्षको बजेट भाषणामा सुदूर पहाडका यातायात सेवा कार्यालयबाट लाइसेन्स वितरण हुने बताएको छ। तर सवारी चालक अनुमती पत्र वितरण गर्नका लागि विभागबाटै अनुमति पाइएको छैन।

त्यसका लागि प्रदेश सरकारले पनि चासो देखाएको छैन। यातायात व्यवस्था विभागले अनलाइन फरामका लागि कोटा निर्धारण गरेपछि मात्रै उक्त सेवा सुरु हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.