धनगढी : स्थानीय तह निर्वाचनका सबै प्रक्रिया सकिएसँगै मतदाता नामावली संकलनको काम फेरि सुरु भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार असार १ गतेदेखि मतदाता नामावली संकलनको काम सुरु भएको हो।

निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्ने र मतदाता नामावली सार्नसक्ने जनाएको छ। नयाँ मतदाता दर्ताको क्रम प्रदेश र संघीय निर्वाचनको मिति घोषणा नहुँदासम्म चल्ने प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

‘स्थानीय तह निर्वाचनका सबै प्रक्रिया जेठ ३० गते समाप्त भएका छन्,’ उनले भने, ‘अर्को निर्वाचनको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम जारी रहन्छ।’ प्रदेश र सङ्घीय निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन हुने निर्वाचन कार्यालयले जनाएको छ।

यो अवधिमा मतदाताले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक वडाबाट अर्को वडामा बसाइँसराइको प्रमाणपत्रको आधारमा मतदाता नामावली सार्नसक्ने छन्। यस्तै एकै वडामा रहेका मतदाताले आफ्नो पायक पर्ने निर्वाचन केन्द्रमा मतदान स्थल कायम हुने गरी नाम सार्न निवेदन दिन सक्ने निमित्त प्रमुख भट्टले बताए।

‘१८ वर्ष पूरा भएको व्यक्तिले मतदाता नामावलीमा दर्ता गर्न इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन सक्ने छन्,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँमा मतदाता नामावली सार्नका लागि बसाइँसराइको प्रमाणपत्र लिएर आए, मतदाता नामावली सार्ने काम पनि गरिन्छ।’

निर्वाचन कार्यालयले यसअघि तयार भएका मतदाता परिचय पत्र वितरणको कामसमेत गरिने जनाएको छ। तयार भएका मतपत्र सम्बन्धित मतदातालाई वडा कार्यालयमार्फत वितरण गर्ने निमित्त प्रमुख भट्टले बताए। ‘स्थानीय निर्वाचनको समयमा निर्वाचन केन्द्रमा नै परिचय पत्र पठाएका थियौँ तर सबैले लाग्नुभएको छैन,’ उनले भने, ‘अब वितरण गर्न बाँकी रहेका परिचयपत्र वडा कार्यालयमार्फत वितरण गर्ने भनेर सम्बन्धित वडा कार्यालयमा पठाउछौँ।’

Leave A Reply

Your email address will not be published.