गेटामा ‘मेडिकल विश्वविद्यालय’को माग गर्दै विशेषज्ञ चिकित्सकसहित अस्थायी सेवा

वीरेन्द्र भट्ट, धनगढीः गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन स्थानीयले माग गर्दै सांकेतिक आन्दोलन जारी राखिएको छ। क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणले पनि मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने भन्दै स्थानीयले सरकारलाई दबाब दिइरहेका हुन्।

विश्वविद्यालयले दिनसक्ने सुविधा कलेजले दिन नसक्ने, मेडिकल कलेज विश्वविद्यालयको एउटा अंग मात्र हुनसक्ने भन्दै सरकारबाट अनुमोदित आत्मनिर्भर अधिकार प्राप्त निकाय बनाउनुपर्ने माग गरिएको हो। रोजगार, व्यवसाय, अनुसन्धान लगायत क्षेत्रमा समेत ठुलो योगदान पुग्ने भएकाले मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग जोडतोडका साथ उठ्न थालेको छ।

सोही मागसहित मेडिकल कलेजको मुल गेटमै धर्ना बसेर विशेषज्ञ चिकित्सकसहित निःशुल्क रुपमा अस्थायी स्वास्थ्य शिविर नै चलाइएको छ। गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको रुपमा स्थापित गर्न विशेषज्ञ चिकित्ससहित दाबाबस्वरुप अस्थायी स्वास्थ्य शिविर नै सञ्चालन गरिएको स्थानीय रोहित बडुले बताए। ‘सुदूरपश्चिमवासीले अघि सारेको माग लत्याउने प्रयास भए राज्यले ठुलो मुल्य चुकाउनु पर्नेछ,’ उनले भने।

निर्माणको अन्तिम चरणमा पुगेको मेडिकल कलेज सञ्चालनका लागि ४ वटा विकल्प छन्। मेडिकल कलेज, चिकित्सा संस्थान, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल विश्वविद्यालय। सुदूरपश्चिमका अधिकांश नागरिकको माग मेडिकल विश्वविद्यालय हुनुपर्ने छ। दोस्रो प्राथमिकतामा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। तर नीतिगत निर्णय गर्ने ठाउँमा पुगेकाहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि त्यसलाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने चलखेल गरिरहेको भन्दै खबरदारी गर्न थालिएको छ।

भौतिक संरचना निर्माण हुँदा पनि सञ्चालनको प्रारुप तयार गर्न भइरहेको ढिलाइका कारण सुदूरपश्चिमबाट चिकित्सक उत्पादनको विषय झन अन्योलमा परेको स्थानीय विष्णु जोशीको गुनासो छ। ‘विभिन्न क्षेत्रबाट सरोकार राख्ने व्यक्तिहरु मेडिकल विश्वविद्यालय हुनुपर्ने भन्दै मेडिकल कलेजको मुल गेटमै बसेर विशेषज्ञ चिकित्सकसहित अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरेको अवस्थामा सरकार भने यहाँका जनतामाथि बेखबर जस्तै बनेर जायज मुद्दालाई गिजोल्ने काम गरिहेको छ,’ उनले भने।

सुदूरपश्चिमबाट चिकित्सा शिक्षा सञ्चालनका लागि संघीय सरकारको साढे ४ अर्ब बजेट खर्चेर ६ वटा प्याकेजको काम सकिएको छ। सातौं प्याकेजको काम पनि अन्तिम चरणमा छ। ४ वटा प्याकेजमा पर्खाल निर्माण, छात्रवास, भिआइपी निवास निर्माण, फर्निचर र विद्युत विस्तारको काम पनि भइरहेको छ। अहिले ११ वटा प्याकेजमा काम भइरहेको छ।

संघीय सरकारले नै प्रारुप तयार गर्नुपर्ने भए पनि कुनै काम हुन सकेको छैन। शिक्षा मन्त्रालयबाट निर्माण भइरहेको मेडिकल कलेजलाई सञ्चालन गर्न संघीय सरकारले नै ढिलाई गरेपछि मेडिकल विश्वविद्यालयको माग गर्दै दिनहुँजसो आन्दोलन भइरहेको छ।
‘मेडिकल माफियाहरुलाई पोस्ने गरी सरकारले मेडिकल कलेजको नाटक गरिरहेको छ, मेडिकल विश्वविद्यालय यहाँका आम नागरिकको माग हुँदाहुँदै यो विषयलाई लत्याउन खोजे आमरण अनसन नै बसेर विरोध जनाउने तयारी छ,’ मेडिकल कलेज संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले भने। नीतिगत निर्णयसमेत नगरेर सुदूरपश्चिमबाट चिकित्सा शिक्षा सुरु गर्ने विषय ओझेलमा पार्ने चलखेलविरुद्ध कडा रुपमा प्रस्तुत हुने उनको चेतावनी छ।

Leave A Reply

Your email address will not be published.