पहिरो पन्छाइयो तर यातायात अझै असहज

चितवन — नारायणगढ–मुग्लिन सडक र मुग्लिननजिक पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरो पूरै सफा गरे पनि जामका कारण यातायात अझै सहज हुन सकेको छैन ।

पृथ्वी राजमार्गको फिस्लिङ बजारमा सवारीको जाम । तस्बिर सौजन्य : दानबहादुर गुरुङ

डिभिजन सडक कार्यालयका इन्जिनियर आशिका पोखरेलका अनुसार बिहीबार साँझ साढे ६ बजेपछि पहिरो पूर्ण रूपमा सफा भएको छ । तर लामो समयदेखि सडकमा रोकिएका गाडीहरूका कारण यातायात सहज हुनु समय लाग्न सक्ने उनले बताइन् ।

‘पहिरो त छैन तर हिजो लामो समयदेखि गाडी रोकिएका कारण जामको समस्या छ । आज केही बेरपछि सामान्य हुन सक्छ,’ इन्जिनियर पोखरेलले भनिन् । मुग्लिनदेखि दुई किलोमिटरपर काठमाडौंतर्फ पर्ने पृथ्वीराजमार्गको नाग्दी खोलामा बुधबार मध्यरातमा पहिरो खसेको थियो । त्यसैगरी मुग्लिनदेखि साढे तीन किलो मिटर पर नारायणगढतर्फ मुग्लिन–नारायणगढ सडकको नान्सी पुलमा बिहीबार बिहान चार बजे पहिरो गएको थियो ।

नान्सी पुलको पहिरो बिहीबार मध्यान्ह सफा गरेर गाडी चलाउन सुरु भएको थियो । तर नाग्दीको पहिरो साँझ मात्रै पूर्ण रुपमा सफा भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर शिव खनाल कुनै समय पहिरो सफा भएपछि पनि यातायता सहज हुन ४० घण्टासम्म लागेको बताउँछन् ।

‘तर यो पटक त्यस्तो नहोला । मालवाहक ठूला गाडीहरु यतै वरै ठाउँठाउँमा रोकेर व्यवस्थापन गरेको छ । पहिलाको जस्तो कष्ट त अलि हुँदैन । तर लामो समय बाटो रोकिँदा सडकमा जम्मा भएका गाडीहरु पूरै पार हुन केही समय लाग्छ,’ इन्जिनियर खनालले भने ।

Leave A Reply

Your email address will not be published.