‘बाँच्या भेट होइजाला, मरिगया यतिकै भय’ नेपाली जनताकाे आवाज

मान्छे आफ्नाे जिन्दगी दाउमा राखी हिनिरा

यार्चा टिप्न जानेहरु कहिले खुसीका भारी बोकेर आउँछन्, कहिले अधुरा सपनासहित उतै जीवन बिसाउँछन्
२०६५ सालयता यार्चा टिप्ने क्रममा भीरबाट लडेर, हिमपहिरोमा परेर, बिरामी भएर, खोलामा बगेर, लेक लागेर, हिउँमा चिप्लिएर बझाङको सुर्मा गाउँपालिकाका मात्रै ७५ जनाले ज्यान गुमाइसकेका छन्

वसन्तप्रताप सिंहडीबी बुढाआश गुरुङघनश्याम खड्काहरिराम उप्रेती

बझाङ, जुम्ला, लमजुङ, म्याग्दी, गोरखा — सुर्मा गाउँपालिका–१, बिछाडाकी सिन्की बोहरा र उनकी छिमेकी रुवसी बोहराको भेट जेठ १७ मा पार्थी लेकमा भएको थियो । धानसेरी हिमालबाट यार्चागुम्बु खोजेर घर फर्कंदै गरेकी रुवसी र यार्चा खोज्नकै लागि घरबाट ब्याँसीमारेतिर जान लागेकी सिन्कीको जम्काभेटका क्रममा छोटो कुराकानी भयो ।

यार्चा संकलनका लागि गाइसेरा हिमालतर्फ लागेका बझाङका स्थानीय बासिन्दा । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

घरतिरको सामान्य सन्चो–बिसन्चो सोधेपछि लामो कुराको प्रसंग निकाल्न खोजेकी सिन्कीलाई रुवसीले रोकेर भनेकी थिइन्, ‘ढिला भइसक्यो, रात पर्‍यो भने बाटो अप्ठ्यारो छ, पछि कुरा गरौंला है ।’ प्रतिउत्तरमा सिन्कीले ‘हुन्छ, राम्रोसँग जानू, बाँच्या भेट होइजाला, मरिगया यतिकै भयो’ भनिन् ।

३५ वर्षीया सिन्की रुवसीसँग छुटेको पर्सिपल्ट हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । सुर्माकै ब्याँसीमारे हिमालनजिक पहिरोमा परेकी उनको अवस्था ८ दिन भइसक्दा पनि अज्ञात छ । उनी सुतेको पाल १९ गते राति २ बजेतिर हिमपहिरोले बगाएको थियो । सदरमुकामबाट गएका प्रहरी र स्थानीय बासिन्दाले दुई दिनसम्म खोज्दा पनि नभेटिएपछि खोजी कार्य बन्द गरिएको छ । ‘मर्ने मान्छेका मुखबाट वाणी आउँछ भन्थे हो रैछ,’ रुवसीले भनिन्, ‘नभए त्यस्तो निराश कुरा कहिल्यै गर्दिन थिई । त्यही भेट अन्तिम भयो ।’

सिन्कीको मृत्युसँगै १६ र ८ वर्षका दुई छोरा तथा ११ र ४ वर्षका दुई छोरीले मातृवत्सल्य सदाका लागि गुमाएका छन् । पति प्रेम बोहरा पत्नी वियोगले मर्माहत छन् । प्रेमले यार्चा संकलनकै क्रममा गत वर्ष १३ वर्षकी छोरी गुमाएका थिए । यार्चा संकलन गरेर घर फर्किने क्रममा छोरी कविताको अगाड खोलामा बगेर ज्यान गएको थियो । न्यून आर्थिक अवस्था भएका प्रेम लगालगको शोकले विक्षिप्त छन् । ‘नजाऔं भने यार्चाकै कमाइले परिवार पाल्नुपर्छ, कमाइखाने अरू बाटो छैन,’ रुवसी भन्छिन्, ‘सालसालै ज्यान जान लाग्या । पोहोर छोरी मरी, अहिले जोई (श्रीमती) मरी । विचरालाई सहनै गाह्रो भएको छ ।’

बझाङको सुर्मा गाउँपालिकामा पर्ने धानसेरी पाटनमा यार्चा संकलन गर्न जाँदै । तस्बिर : तस्बिर : वसन्तप्रताप/कान्तिपुर

सुर्माकै १८ वर्षीया निर्मला बोहराको जेठ १० मा जलजला भन्ने ठाउँमा मृत्यु भयो । साँझ खाना खाएर सुतेकी उनको राति एक्कासि टाउको दुखेको थियो । दुई घण्टासम्म कडा टाउको दुखाइ सहेकी उनको त्यही कारणले ज्यान गयो । भर्खर एसईई दिएकी छोरी गुमाउनुपर्दा उनको परिवार शोकमग्न छ ।

यार्चा संकलन गर्ने क्रममा परिवारका सदस्य र आफन्त गुमाएर सुर्माका गाउँहरू शोकमा डुबेको यो पहिलोपटक होइन । यार्चा संकलन गर्ने सिजन (वैशाख–असार) मा कोही न कोही परिवारले सदस्य नगुमाएको वर्ष छैन । २०६५ सालयता मात्रै यार्चा टिप्ने क्रममा भीरबाट लडेर, हिमपहिरोमा परेर, बिरामी भएर, खोलामा बगेर, लेक लागेर, हिउँमा चिप्लिएर यस पालिकाका ७५ जनाले ज्यान गुमाइसकेका छन् । यार्चा टिप्ने क्रममा बझाङकै साइपाल, तल्कोट, मस्टा, छबिसपाथीभेरा, दुर्गाथली गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाबाट लेक गएकामध्ये १० वर्षको अवधिमा २ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेको स्थानीय बताउँछन् । यद्यपि यसरी ज्यान गुमाउनेको आधिकारिक विवरण कसैले राखेका छैनन् ।

‘मृत्युसँग जुधेर यार्चा खोज्नु हाम्रो बाध्यता हो, अरू विकल्प पनि त केही छैन,’ सुर्माका दिलीप बोहराले भने, ‘आम्दानीको अरू माध्यम छैन । बाँचे एक वर्षलाई परिवार पाल्ने खर्च आउँछ । मर्‍यो भने कहानी नै सकियो ।’ यार्चा टिप्न लेक जाँदा सकुशल घर फर्किए पनि अर्को वर्ष उस्तै जोखिम मोल्नु यहाँका स्थानीयको नियति भएको उनले बताए ।

बझाङको मात्रै होइन, यार्चा संकलन हुने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाका संकलक सबैको नियति उस्तै छ । जुम्ला पातारासी–२ की सुनकली बोहरालाई हरेक वर्ष यार्चा टिप्ने मौसममा विरक्त लाग्छ । माटोको छानो भत्काएर जस्तापाताको छानो फेरेपछि लागेको ऋण तिर्न उनका श्रीमान् २५ वर्षीय बुद्धि यार्चा टिप्न पाटन उक्लिएका थिए तर घर फर्किएनन् । पाटन पुग्दापुग्दै उनलाई श्वासप्रश्वासको समस्या देखियो । पेट दुख्न थाल्यो । उनी यति विकट ठाउँमा थिए, जहाँबाट मुगु सदरमुकाम गमगढी पुग्न तीन दिन लाग्थ्यो । बाटोमै उनको मृत्यु भयो । तीन छोरी र एक छोराको सहारा बितेपछि सुनकली खर्चको जोहो गर्न कालापहाड जान थालेकी छन् । बुद्धिकी १४ वर्षीया जेठी छोरी नीराको सहारामा दुई बहिनी र एक भाइ हुर्किरहेका छन् । ‘बा आउँछन् कि भनेर आस लागिरहन्छ,’ नीराले भनिन्, ‘न बा आउँछन् न पैसा पठाउँछन् । बाबाको अनुहार हेर्न कति मन लागिरहेको छ ।’

पातारासीकै २६ वर्षका तिलबहादुर सार्की बीएड पढ्दै थिए । उनको एउटै चाहना थियो– पाटनमा यार्चा टिपेर पैसा कमाउने र लोक सेवा आयोगको ट्युसन कक्षा लिएर सरकारी जागिरे बन्ने । तर, गत वर्ष मुगुको नयाँवन पाटनमा उनले संसार छाडे । उनलाई साथीहरूले गमगढी अस्पताल पुर्‍याउन सकेनन् । माघमा विवाह गरेका उनको जेठमा मृत्यु भएपछि पत्नीले अर्को विवाह गरेकी छन् । पाटन जानुभन्दा पहिले उनले गाउँका दौंतरीसँग पाटनबाट बाँचेर आएछु भने लोक सेवा आयोगमा पास भएर सरकारी जागिरे बन्नेछु, पैसाबिना सरकारी जागिरे बन्ने धोको पूरा हुनेछैन भनेका रहेछन् । तत्कालीन पातारासी गाविसमा मात्रै यार्चा टिप्न जाने क्रममा ७ जनाको मृत्यु भइसकेको छ ।

तिलबहादुरका काका कालीबहादुर यार्चाको कमाइले कालापहाडको यात्रा रोकिए पनि धेरैको ज्यान गएको बताउँछन् । यार्चा टिप्दा आइपर्ने भवितव्यको आकलन गरेरै उनी यसलाई लडाइँमा जाने कामजस्तै ठान्छन् । उनले भने, ‘यो एक प्रकारको युद्धजस्तै हो । बाँचेर फर्किंदा मुक्ति पाएको अनुभूति हुन्छ ।’

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा डोल्पा पाटनमा १३ जनाको मृत्यु भएको थियो । २०७६/०७७ र २०७७/०७८ मा कोरोनाका कारण यार्चा टिप्ने कार्य नभएकाले खासै घटना घटेनन् ।

२०७१ असारमा यार्चा टिप्न गएका धादिङ र गोरखाका संकलकबीच मदिराका कारण भिडन्त भएपछि घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लैजानुपरेको थियो । २०७२ सालमा डोल्पाको फोक्सुन्डो र साल्दाङको सिमानामा पर्ने नाउर लेकमा हतियारधारीले यार्चागुम्बु संकलक तथा व्यवसायबाट ४ करोड रुपैयाँ लुटेका थिए । २०७३ असारमा मुगुमा यार्चागुम्बु संकलकबीच झडप हुँदा एक जनालाई गोली हानेर हत्या गरिएको थियो ।

यार्चा टिप्दाको जोखिमबारे स्थानीय बासिन्दा जानकार नभएका होइनन् तर यसबाट हुने आम्दानीको विकल्प उनीहरूसँग छैन । त्यसैले त यार्चा टिप्न पाटन जानुअघि युवा भेला हुन्छन्, एकआपसमा सुखदुःख साट्छन् । घरपरिवारले पनि कालापहाड गएजस्तै गरेर टीका लगाइदिन्छन् ।

पछिल्लो समय देउता हेराएर पाटन जाने गरिएको छ । देउताले दिएको दिन मात्रै साइत निकाल्ने चलन छ । स्थानीय ताराबहादुर बोहराले यार्चा टिप्ने काम जोखिमपूर्ण भएको बताए । उनले भने, ‘आफन्त पाटन हिँडेपछि घर बस्नेहरू बेचैन हुन्छन् ।’

यस्तै वियोगान्त कथा छ– मनाङ, मुस्ताङ र गोरखामा पनि । यार्चागुम्बु खोज्न मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ को रिस्याङपोलेक (मुक्तिनाथ हिमालको फेदी) उक्लेका बागलुङको निसीखोला–६ भल्कोटका उज्ज्वल घर्तीको गत जेठ १२ मा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भयो । ‘यार्चागुम्बु खोज्न सयौं मान्छे मुस्ताङको माथिल्लो चरन क्षेत्र पुगेका छन्, एक जनाको हालै दुर्घटनामा मृत्यु भयो,’ प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले भने, ‘पछिल्ला तीन वर्षको अभिलेखअनुसार यार्चागुम्बु खोज्ने क्रममा मृत्यु भएको यो पहिलो घटना हो । अन्नपूर्ण संरक्षण क्षेत्रका अनुसार यहाँका ३२ वटा चरन क्षेत्रमा यार्चा खोज्न मानिसहरू पुगेका छन् ।

जटिल भूबनोट र कमजोर पूर्वतयारीका कारण यार्चा संकलन मृत्युसँग जुधेर गरिने काम भएको छ । चार वर्षअघि म्याग्दीको रघुगंगा गाउँपालिकाअन्तर्गतको धौलागिरि आइसफलनजिक लोसोलेकमा यार्चागुम्बु संकलन क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको थियो । विकट भूगोल र सरकारको कमजोर उपस्थितिका कारण यार्चा टिप्ने क्रममा कतिको मृत्यु भयो भन्नेबारे यकिन विवरण भेट्न सजिलो छैन ।

गोरखाको तिब्बत सीमा क्षेत्रको गुम्बा लुम्दुन पुगेर फर्कंदै गर्दा गत वर्ष चुमनुव्री गाउँपालिका–६, चुम्चेतका २ जनाले ज्यान गुमाए । यार्चा संकलन गरेर फर्कंदै गर्दा हिउँले कठ्यांग्रिएर २४ वर्षीय निमा छिरिङको ज्यान गएको थियो भने खार गाउँबाट यार्चा संकलनका लागि लुम्दुन पुगेका अर्का २२ वर्षीय युवकको फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो । चुमनुव्री–६ का वडाध्यक्ष सरोज लामाका अनुसार भौगोलिक हिसाबले जडीबुटी संकलन गर्ने ठाउँ अप्ठ्यारो भीरमा भएकाले यस्ता घटना भएका हुन् । ‘अर्को आम्दानीको स्रोत छैन, फुर्सदको समयमा जडीबुटी संकलनका लागि जोखिम मोलेर लेक जानुपर्छ,’ उनले भने ।

२०७६ जेठ २५ मा मनाङको नार्पाभूमि गाउँपालिका–२ का ३४ वर्षीय डोल्मा नाङसेल लामाको यार्चागुम्बु टिप्न जाँदा घ्यासोङ भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यार्चा टिप्न गएका लमजुङको बेंसीसहर नगरपालिका–१० बाँझखेतका पूर्णबहादुर गुरुङको माथिबाट आएको ढुंगाले लागेर २०७३ वैशाख ६ मा मनाङकै नार लेकमा मृत्यु भयो । मनाङ सदरमुकाम चामे ल्याउनै दुई दिन लाग्ने भएपछि प्रशासनको निर्देशनमा शव नारखोलामै गाडिएको थियो ।

लमजुङ र कास्कीको सीमावर्ती लेक लमजुङ हिमालको काखमा पुगेका कास्कीको मादी गाउँपालिका–२, ताङतिङका मनकाजी गुरुङको २०७१ वैशाख ३० मा मृत्यु भयो । यार्चा संकलनका लागि जाने क्रममा हिउँबाट चिप्लिएर भीरबाट खस्दा उनको मृत्यु भएको हो ।

यार्चागुम्बु संकलनका लागि गोरखाको चुमनुव्री–७, छेकम्पार र सामागाउँका स्थानीय बर्सेनि लेक उक्लने गर्छन् । यार्चा पाइने स्थानमा उनीहरू टेन्ट टाँगेर बस्छन् । यार्चा पाइने लेकमा स्थानीयबाहेकलाई संकलनमा रोक लगाइएको छ । २०७४ जेठ ११ मा यार्चा टिप्न गएका पाँच जनालाई गाउँलेले नियन्त्रणमा लिए । सामागाउँकै स्थानीय नपुगेका खर्कमा तल्लो क्षेत्रबाट आएर यार्चा संकलन गरेको भन्दै लाप्राक र गुम्दाका ५ जना समातिएका थिए । उनीहरू पाँच दिनपछि गाउँलेको नियन्त्रणबाट मुक्त भएका थिए ।

२०६६ वैशाख २७ मा यार्चा टिप्न पुगेका ७ गोरखालीको मनाङको लेकमा हत्या भएको थियो । गोरखाको धार्चे गाउँपालिका–१ र २ केरौंजाका ती युवालाई मनाङको नार्पाभूमिस्थित घाङराङ लेकबाट लखेट्दै ल्याएर विभिन्न ठाउँबाट खसाली हत्या गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार त्यतिबेला केरौंजाका ज्ञानबहादुर गुरुङ, शोभर गुरुङ, कामी गुरुङ, आइतराम गुरुङ, वीरबहादुर गुरुङ, कान्छा गुरुङ र ध्रुव गुरुङको मृत्यु भएको हो ।

मनाङ प्रहरीका निरीक्षक रामकृष्ण श्रेष्ठका अनुसार त्यसअघि २०६४ जेठ १२ मा यार्चागुम्बु संकलन गर्न आएकाको कुटपिटबाट नारका पेम्बा साङ्गे लामाको मृत्यु भयो । उनी यार्चा टिप्न आउनेको पुर्जी जाँच गर्न बसेका थिए । ‘यार्चागुम्बु टिप्न आएका शमशेर गुरुङसमेतका व्यक्तिहरूले अर्काको नामको पुर्जी लिई यार्चागुम्बु टिपेको विषयमा वादविवाद र कुटपिट हुँदा लामाको मृत्यु भएको देखिन्छ,’ उनले भने । कुटपिटपछि गम्भीर घाइते भएका लामाको जेठ १३ मा चामे अस्पतालमा मृत्यु भएको हो ।

मनाङमा यार्चा टिप्ने समयमा घटना हुन थालेपछि द्वन्द्वमा विस्थापित प्रहरी चौकीहरू पुनःस्थापना गरिएका छन् । नार्पाभूमिको मेता र च्याखुमा रहेका प्रहरी चौकी डेढ दशकअघि पुनःस्थापना भएका हुन् । शान्तिसुरक्षालाई मध्यनजर राखेर टंकी मनाङमा पनि अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । मनाङका डीएसपी प्रेमसागर केसीका अनुसार प्रहरीले यार्चा टिप्ने ठाउँमै गस्ती टोली खटाउने गरिएको छ । उनले भने, ‘मान्छे धेरै भएका ठाउँमा पालैपालो प्रहरी बस्छन् । नजिकबाट जाने ठाउँमा दिउँसो गस्ती गर्ने र बेलुकी फर्किने गरिएको छ ।’

वन विभागका अनुसार आर्थिक वर्ष २०६९/०७० मा दार्चुला, डोल्पा, जुम्ला, मुगु, बझाङ, रुकुम, म्याग्दी, मनाङ, गोरखा, सिन्धुपाल्चोक, संखुवासभा र रसुवामा गरी १ हजार १ सय ७९ किलोग्राम यार्चागुम्बु संकलन भएको थियो । गत वर्ष बझाङमा २ सय ६५ किलो र जुम्लामा १ सय ७ किलो संकलन भएको थियो । आर्थिक वर्ष २०७०/०७१ मा यिनै जिल्लामा २ हजार ४ सय ५९.२ किलोग्राम यार्चा संकलन भएको थियो । बझाङ नेपालकै बढी यार्चा संकलन हुने जिल्लामा पर्छ ।

यहाँबाट सरदर वार्षिक २ सय ५० किलोग्राम यार्चा निकासी हुने गरेको डिभिजन वन कार्यालयको तथ्यांक छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०७०/०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्चागुम्बु संकलन भएको थियो । यार्चाको बिक्रीवितरण र कारोबार रकमको रेकर्ड विभिन्न निकायमा भेटिने गरेको भए पनि यार्चा संकलनका क्रममा ज्यान गुमाएकाको हिसाब कसैले राखेका छैनन् ।

डोल्पाबाट मात्रै बर्सेनि २६ हजारभन्दा बढी संकलक पाटन जान्छन् । तीमध्ये १० हजारजति जुम्लाबाट जान्छन् । बझाङमा देशभरिबाट प्रतिवर्ष ३५ हजारभन्दा बढी संकलक विभिन्न पाटनमा पुग्ने गर्छन् । नेपालमा समुद्री सतहदेखि ३ हजार ५ सय ४० देखि ५ हजार ५ सय मिटर उचाइका घाम लाग्ने पाटनमा यार्चा पाइन्छ ।

जुम्लाका यार्चा व्यापारी धनसिंह बोहरा यार्चा टिप्न जाँदा ज्यान जोखिममा राख्नुपरेको बताउँछन् । ‘यार्चाले भविष्य सुधार्छ पनि, बिगार्छ पनि,’ उनले भने, ‘पछिल्लो समयमा यार्चा टिप्न जानेभन्दा कालापहाड जानेको संख्या बढ्न थालेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.