अमेरिकी सैनिक तैनाथी सम्झौता अगाडि बढाइँदैछः भीम रावल

काठमाडौंः नेकपा एमालेका सांसद भीम रावलले नेपालमा अमेरिकी सेना तैनाथी गर्ने सम्झौता अगाडि बढाइन लागेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘दिनदिनै सुनिराछौं, अमेरिकाका सेनाका प्रमुख आउने रे, एसिया प्रशान्त क्षेत्रका प्रमुख। यहाँका सेना अमेरिका जाने रे,’ सांसद रावलले भने,‘यहाँ के हुँदैछ ? रक्षामन्त्री समेत रहेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई म सोध्न चाहन्छु।’ हिन्द प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने यसो गरिरहेको उनले दाबी गरे। ‘एमसिसी सम्झौता पारित गर्दा हिन्द(प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने र केही समय अगाडि सुरु गरिएको साझेदारी सम्झौता भित्रभित्रै गर्नका लागि यो सम्पूर्ण चाँजोपाँजो मिलाइदैछ भन्ने मैले सुनेको छु,’ उनले भने।

सांसद रावलले अर्कातिर ‘सरकार सुरक्षा नीति भन्नासाथ तर्सिन्छ कि क्या हो ?’ प्रश्न गरे। ‘हुन त लिम्पियाधुरा, लिपुलेक र कालापानी आज भारतले अतिक्रमण गरेर बस्या छ, सरकार चुँइक्क बोल्दैन्,’ उनले भने,‘अनि थरथर कामेर जनताबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री हुँ भन्दा यसैगरी थरथर कामेर राष्ट्रिय स्वधीनता र स्वतन्त्रताको रक्षा हुन्छ ?’

Leave A Reply

Your email address will not be published.