बैतडी–धनगढी हवाई सेवा अढाई महिनादेखि बन्द, कारण यस्तो

बैतडीः बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो। साताको एक दिन बिहीबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो।

नियमित रूपमा उडान हुने गरेकोमा हाल यात्रु नपाउँदा बन्द रहेको बैतडी नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले बताए। समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रहरूमा बढी उडान भरिरहेको हुनाले पाटन आउन नसकेको हो। यात्रु नहुँदा नियमित उडान गर्न नसकिएको उनको दाबी छ। अढाई महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए। केही हप्तापछि हवाई सेवा नियमित रूपमा सञ्चालन हुने उनले बताए। १८ यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिक रूपमा उडान हुँदै आएको थियो।

यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो। यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकोमा फागुन पहिला साता सञ्चालन भएको थियो। यसैबीच बैतडी–धनगढी हवाई भाडा महँगो भएको यात्रुको गुनासो छ। १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको बताएका हुन्। गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार ६ सय रुपैयाँ थियो। सम्पर्क व्यक्ति भट्टका अनुसार अब ४ हजार ६ सयभन्दा भाडा बढ्नेछ। सुरुमा हवाई सेवा सञ्चालन हुँदा ३ हजार ८५० रुपैयाँ भाडा रहेको थियो।

पाटनमा विमानस्थल २६ वर्षपछि वि स २०७७ असोज अन्तिम साताबाट पुन सञ्चालनमा आएको हो।

Leave A Reply

Your email address will not be published.