निलम्बित भएपछि मोहन्यालका अध्यक्षले जिससको चुनावमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ?

धनगढीः जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यहि ३० गते हुन गइरहेको छ। उक्त निर्वाचनमा जिल्लाका १३ ओटै स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन्। यसरी हेर्दा २६ जनाले उक्त निर्वाचनमा मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्र रुपमा विजयी भएका जनप्रतिनिधि छन्। यस्तै एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लडेका कांग्रेसका नेताले पनि पालिका अध्यक्ष छन्।

तर, मंगलवार मात्रै मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको छ। भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित उनीसहित र तीन वडाध्यक्ष निलम्बनमा परेका हुन्। उपाध्यायले अघिल्लो कार्यकाल वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो।

निलम्बनमा परेपछि उनले जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा मतदान गर्न पाउने कि नपाउने भनेर बहस सुरु भएको छ। जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि १४ मत आवश्यक पर्छ। तर सत्ता गठबन्धनसँग १३ मत मात्रै छ। कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ। यसमा पनि एक जना कारबाहीमा परेका छन्। गठबन्धन विरुद्ध उम्मेदवारी दिएको भन्दै काँग्रेस नेता तथा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो। उक्त कारबाही फुकुवा नभए गठबन्धनसँग १२ मत मात्रै हुन्छ। थप त्यसमा मोहन्यालका अध्यक्षले मताधिकार प्रयोग गर्न नपाएपछि गठबन्धनसँग ११ मत मात्रै बाँकी रहनेछ।

कैलालीका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७ मत छ। एमालेसँग भने ५ मत मात्रै छ। तर, यी दुईबीच पनि तालमेल भएको छ। दुवैको जोड्दा १२ मतभार पुग्छ।

मोहन्यालका अध्यक्षले मतदान गर्न नपाएको खण्डमा जिससको चुनावमा गठबन्धन कमजोेर हुनेछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मुद्धा किनारा नलाग्दासम्म मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायले कुनै काम कारबाही गर्न नपाउने बताएका छन्। ‘उहाँले मतदान गर्न पाउनु हुन्न। निलम्बन भएपछि सबै सक्कियो। उहाँले घर बस्नुपर्छ’ उनले भने।

तर, कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भने उनको मतदानको अधिकार सुरक्षित रहेको बताएका छन्। ‘उनले मतदान गर्न पाउँनेछन्। तर निर्वाचन आयोगले लिखित रुपमा मताधिकार गर्न नपाउने भनेर पत्र दिएमा उहाँले मतदान गर्न पाउनुहुने छैन’ उनले भने।

जिससको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उम्मेदवारी दर्ता भइसकेको छ। यस्तै जिससको उपप्रमुखका लागि पनि २ जनाको उम्मेदवारी दर्ता भएको छ। माओवादी केन्द्रबाट खगराज भुषाल र नेकपा एमालेबाट राजेन्द खनालको उम्मेदवारी दर्ता भएको छ। यस्तै अन्य ७ जना सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको कार्यालयले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.