कैलालीमा घटेन नवजात शिशु र मातृ मृत्यु दर

धनगढी: कैलालीमा मातृ तथा नवजात शिशु मृत्युदर तुलनात्मक रुपले बढेको पाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले तयार गरेको तथ्यांकअनुसार फ्रेस स्टिल बर्थ अर्थात बच्चा जन्मनुभन्दा पहिले मृत्यु हुने दर पनि उच्च रहेको छ। यस्तै गर्भावस्थामै शिशु मृत्यु हुने दर पनि उच्च रहेको पाइएको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा नवजात शिशु मृत्युदर, मातृ मृत्युदर तुलनात्मक रुपमा नघटेका बताए। ‘कैलालीमा फ्रेस स्टिल वर्थ पनि बढी नै छ, गर्भावस्थामै बच्चा मरेर जन्मने संख्या पनि बढी नै छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको यो समस्या हल गर्न सरोकारबाला सबैले मिलेर काम गर्नुपर्ने देखिएको छ।’

कैलालीमा आर्थिक वर्ष २०७६/०७७ मा १६ हजार २५२ बच्चा जन्मिएका छन्। तर उक्त वर्षमा ४९ शिशुको जन्मने क्रममा मृत्यु भएको छ भने १५२ शिशुको गर्भावस्थामै मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ५८१ बच्चा जन्मिएका छन्। त्यो वर्ष ५८ शिशुको जन्मने क्रममा मृत्युु भएको छ भने २७६ शिशुको आमाको पेटमै मृत्यु भएको छ। यसैगरी चालु आर्थिक वर्षको वैशाखसम्म ३४ जना शिशुको जन्मने क्रममा मृत्यु भएको छ भने १९२ शिशुको गर्भावस्थामा मृत्यु भएको छ।

फ्रेस स्टिल वर्थ र गर्भावस्थामै शिशु मर्ने प्रमुख कारणमा स्वास्थ्य पूर्वाधारको अभाव र स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव हुनु रहेको सेती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर खगेन्द्रप्रसाद भट्टले बताए। ‘मातृशिशु मृत्यु घट्न नसक्नुका धेरै कारण हुन सक्छन्, भौतिक पूर्वाधार, उपकरण अभाव, तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव र अनियमित गर्भावस्थाको जाँच हुन नसक्दा पनि मृत्यु रोक्न नसकिएको हो,’ उनले भने, ‘सुदूरपश्चिममा अहिलेसम्म एउटा मेडिकल कलेजसमेत छैन भने ग्रामीण भेगमा नियमित स्वास्थ्य जाँच पनि भएको हुँदैन, जसले गर्भवती आमा र बच्चाको स्वास्थ्यमा समस्या आएको पनि थाहा हुँदैन।’

कैलालीमा नवजात शिशु मृत्युदर पनि उच्च रहेको पाइएको छ। आर्थिक वर्ष २०७६/०७७ मा जन्मेको २८ दिन अगाडि ६५ शिशुको मृत्युु भएको छ भने २०७७/०७८ मा ८३ नवजात शिशुको मृत्यु भएको छ, जुन ८.३ प्रतिशत हुन आउँछ। चालु आर्थिक वर्षमा भने जन्मेको २८ दिन नपुग्दै ५४ नवजात शिशुको मृत्यु भएको छ। प्रसुतिको स्वास्थ्य परीक्षण नहुनु, ग्रामीण क्षेत्रमा दक्ष प्रसुतिकर्मीको अभाव हुनु, अल्ट्रासाउन्ड लगायतका उपकरण र विशेषज्ञ स्वास्थ्यकर्मीको अभाव तथा कुपोषण र आमामा हुने दीर्घ रोगका कारण पनि नवजात शिशुको मृत्युदर नघटेको डाक्टर भट्टले बताए।

कैलालीमा मातृ मृत्यु पनि शुन्यमा झर्न सकेको छैन। जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ७, २०७७/०७८ मा ११ र चालु आर्थिक वर्षको वैशाखसम्म ४ जना आमाको मृत्यु भएको छ।

नेपाल सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्यअन्तर्गत मातृमृत्यु दर ६० प्रति लाख जिवित जन्मभन्दा कम र नवजातशिशु मृत्यु दर १५ प्रति हजार जिवित जन्मभन्दा कम हुनुपर्ने लक्ष्य राखेको छ। तर सुदूरपश्चिमको सुगम जिल्ला कैलालीमा समेत मातृ शिशु मृत्यु निकै उच्च रहेको छ।

Leave A Reply

Your email address will not be published.