धनगढीमा सम्मान गृहको उद्धघाटन

कैलाली : सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि सम्मान गृह सञ्चालनमा आएको छ। मंगलबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले सम्मान गृहको उद्धघाटन गरेकी सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले बताइन्।

सेभ द चिल्ड्रेन, ग्लोबल फन्डको आर्थिक सहयोग निल हिरा समाजको समन्वयमा सुदूरपश्चिम समाज धनगढीले सम्मान गृह आश्रयस्थल सञ्चालनमा ल्याएको हो। एलजीबीटी आईक्यूका समुदाय जो हिंसा तथा पीडामा परेका छन्, यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय, टाढाटाढा देखि एआरभी लिन आएका व्यक्तिलाई लक्षित गर्दै सुदूरपश्चिम समाजले दुई बेड क्षमताको सम्मान गृह धनगढी उपमहानगरपालिका-५ हसनपुरमा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ।

सम्मान गृहको उद्घाटन गर्दै उपप्रमुख भट्टले घरबाटै नै भेदभाव गर्न छोड्नुपर्ने बताउँदै यसका लागि सचेतना कार्यक्रम गर्नुपर्नेमा पनि जोड दिइन्। उनले भनिन्, ‘मानव जाति सबै एकै किसिमको हो। समान व्यवहारका आधारमा आगामी दिनमा कार्य थालनी गर्नुपर्छ।’ यसैगरी उनले इपिक नेपाल लगायत विभिन्न परियोजना द्धारा संचालित सुदूरपश्चिम समाजको कार्यालयको समेत अवलोकन गरी एचआईभी एड्सको अवस्थाका बारेमा समेत छलफल गरिन्।

उक्त कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायकै सरस्वती गुरुङले नागरकिता पाउनको लागि अथक प्रयास, कठोर परिश्रमका साथ ५० वर्षको उमेरमा नेपाली नागरिकको प्रमाणपत्र पाउन सफल हुँदा विभिन्न समस्यामा जुध्नुपरेको भन्दै केही राहत पुगोस् भनी निल हिरा समाजले गरेको सहयोग रकम उपप्रमुख भट्टद्वारा सरस्वतीलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले बताइन्।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका लागि देशभरी ९ वटा जिल्ला काठमाडौं, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके र कैलालीमा सम्मान गृह सञ्चालनमा रहेका निल हिरा समाज (बीडीएस) केन्द्रीय कार्यालय काठमाडौंकी कार्यकारी निर्देशक मनिषा ढकालले बताइन्।

सम्मान गृह उद्घाटन कार्यक्रममा सुदूरपश्चिम समाजकी अध्यक्ष नेपाल, धनगढी उपमहानगरपालिका उपप्रमुख भट्ट, सेभ द चिल्ड्रेन ग्लोबल फन्डका प्रतिनिधि प्रकाशचन्द्र लेखक, निल हिरा समाज केन्द्रीय कार्यालयकी कार्यकारी निर्देशक मनिषा ढकाल, सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामालगायत उक्त संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.