कार्यालय प्रमुखलाई मोसो दलियो, जुत्ताको माला लगाइयो

धनगढीः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संस्था युवा संगठन नेपालले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई मोसो र जुत्ताका माला लगाएको छ। पार्टीले जैसीलाई कारवाही गरिएको विज्ञप्तीमार्फत जानकारी गराएको हो।

संगठनका जिल्ला इञ्चार्ज विवश र अध्यक्ष डिआरले जारी गरेको विज्ञप्तीमा कार्यालय प्रमुखमाथि भ्रष्टाचारी, कमिसनखोर, अनियमितता, मनोमानीको आरोप लगाउँदै मोसो र जुत्ताको माला लगाइएको उल्लेख छ। संगठनले छ महिनासम्म अनुसन्धान गरेर प्रमुख जैसीका थुप्रै अनियमिता भेट्टाएको दाबी गरेको छ। उनले कार्यालय प्रमुखको जिम्मेवारीबाट राजीनामा नदिएमा थप कारवाही गरिने चेतावनी समेत दिइएको छ। विज्ञप्तीमा जैसीलाई कारवाही गर्नुपर्नाका कारणहरु पनि उल्लेख छ।

उनलाई कार्यालयले खरिद गरेको २५ वटा बेड र अन्य सामानमा १० लाख रुपैयाँ,एम्बुलेन्स खरिद गर्न प्राप्त १० लाख रुपैयाँमध्ये दुई लाख रुपैयाँ अन्यत्र खर्च गरेको,एक्सरे मेशिन खरिदमा ३४ लाख भ्रष्टाचार गरेको र इन्धन खर्चमा ४ लाख ५० हजार दोहोरो खर्च गरेको आरोप लगाइएको छ। त्यसैगरी कार्यालयले खरिद गरेको अक्सिजन प्लान्टमा ५ लाख रुपैयाँ, जिल्ला अस्पतालको प्रयोगशाला भवनको तीन वटा कोठामा जस्तापाताको छाना छाउँदा ४ लाख ९० हजार रुपैयाँ खर्चेको,बर्थिङ भवनमा टायल लगाउँदा आर्थिक ऐन विपरित ४ लाख ९८ हजारको सम्झौता गरेको, स्टेबलाइजर खरिदमा दुई लाख रुपैयाँ भ्रष्टाचार गरेको र जनतालाई निःशुल्क उपलब्ध गराउनुपर्ने १५ लाख रुपैयाँको बजेट हालसम्म खर्च नगरेकोलगायत विषय उल्लेख गरेर संगठनले जैसीलाई कारवाही गरेको बताएको छ।

Leave A Reply

Your email address will not be published.