थारु समुदायमा माघीको चहलपहल सुरु

आदिवासी जनजाती थारु समुदायमा माघीको चहलपहल सुरु हुन थालेको छ । माघी पर्व नजिकिएसंगै थारु गाउँमा माघीको चहलपहल बढ्न थालेको हो । थारु समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात माघी आउन अब चार दिनमात्रै बाँकी छ ।

पर्व नजिकिएसंगै यो समुदायमा माघीका लागि धुमधाम तयारी चलिरहेको छ । मान्छेहरु पर्वको लागि कुटानी, पिसानीका साथै आवश्यक सामान जोहो गर्नमा व्यस्त भएका छन् । दाउरा सङ्कलनदेखि लिएर मेलापात गर्ने काम पनि भइरहेका छन् । विस्तारै माघीको चहलपहल हुन थालेको छ । माघीमा नभइ नहुने ढिक्री चामलको पिठोबाट बनाइने गरिन्छ ।

त्यसैले, पर्व आउनुभन्दा एक÷डेढ हप्ता अगाडिबाट नै कुटानी पिसानीको काम हुने गरेको सो समुदायका व्यक्ति बताउँछन् । ‘ढिलो भएमा मिलमा भीडभाड बढ्ने भएकाले सकेसम्म हप्तादिन अगाडिदेखि नै कुटानी पिसानी गराउने गरेका छौं’, धनगढी उपमहानगरपालिका–५ हसनपुरका विशाली चौधरीले भनिन् । ‘मैले आफू तरकारी बिक्री गरेर माघीको लागि अरुकोबाट तरुल र सखरखण्डकोसमेत जोहो गरि सकेँ ।’

आफूले धनगढी हाट बजारमा तरकारी बिक्री गरेर माघीको लागि आवश्यक सामान खरिद गरिरहेको उनको भनाइ छ । ‘वर्षदिनपछि फर्केर आएको ठूलो पर्व धुमधामसंग मनाउनका लागि तयारी भइरहेको छ’, चौधरीले भनिन् । माघी थारु समुदायको सबैभन्दा ठूलो पर्वमात्रै होइन, नयाँ वर्ष पनि हो । यो पर्वदेखि नै थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुने गर्दछ । साथै, माघीमा वर्षभरिको आर्थिक लेखाजोखा हुनुकासाथै परिवार र गाउँको नेतृत्व गर्ने व्यक्ति चयनको कार्य हुने गर्दछ ।

माघीमा ढिक्री, सुङ्गुरको मासु, तरुल, सखरखण्ड र जाँड खाने चलन रहेको छ । हरेक परिवारले माघीको लागि मासुको टुङ्गो लगाइ सकेका छन् । माघीमा सुङ्गुर मार्नुलाई ‘जिता मर्ना’ भनिन्छ । कसले, कति मासु किन्ने भनेर पहिल्यै नै नामावली तयार पार्ने कार्य भइसकेको छ । यसैगरी, घर–घरमा जाँड पनि महिनादिन अगाडि नै बनाइएका छन् ।

लगभग सबै तयारी भइसकेको उल्लेख गर्दै धनगढी उपमहानगरपालिका–६ जालीका सरस्वतीदेवी चौधरीले अब माघीको प्रतिक्षामा रहेको बताइन् । ‘यसवर्ष गाउँमा महोत्सव सञ्चालन गर्ने भन्दैछन्’, उनले भनिन् । जाली गाउँमा हरेक वर्ष मघौटा नाचसमेत हुने गरेको छ । नाचको सरसल्लाह पनि भइरहेको चौधरीले उल्लेख गरिन् ।

थारु समुदायमा तीन दिनसम्म धुमधामसंग माघी पर्व मनाउने चलन छ । पुस अन्तिम दिनबाट सुरु भएको माघी पर्व माघ २ गतेसम्म रहने गर्दछ । पहिलो दिन जिता मार्ने, दोस्रो दिन विहानै नदी, पोखरी, दहमा स्नान गरेर मान्यजनहरुको आशिर्वाद लिदैं माघी पर्व मनाउने गरिन्छ । पर्वको अन्तिम् दिन खिचडी भात खाँदै ‘माघी देवानी’ गर्ने र नयाँ नेतृत्व चयनको साथै वर्षभरिको लागि योजना बनाउने कार्य हुने गरेको बताइएको छ ।

माघी आउन थालेपछि कैलारी गाउँपालिकाको वडा नम्बर ७ की कालीदेवी डङ्गौरालाई सालको पातबाट दुना, टपरी बनाउन भ्याइ नभ्याइ छ । सुङ्गुरको मासु र ढिक्री राख्नका लागि डङ्गौराले हप्तादिनदेखि नै सालको पातको दुना, टपरी तयार गरिरहेकी छिन् । ‘यसैमा पाहुनालाई ढिक्री र सुङ्गुरको मासु खान दिन्छौं’, दुना, टपरी देखाउँदै उनले भनिन् ।

डङ्गौराका अनुसार पर्व आउनुभन्दा अगाडि नै गाउँका मान्छेहरु जङ्गलमा पात टिप्न जाने गर्दछन् । त्यसपछि, साँझ, विहान आगो ताप्दै दुना, टपरी बनाउने गरिन्छ । ‘तरकारी राख्नका लागि थारु समुदायको लागि यो महत्वपूर्ण चिज हो’, उनले भनिन् । ‘पाहुनालाई पनि हामी यसैमा तरकारी दिने गर्दछौं ।’ माघी आउन थालेपछि थारु बस्तीमा माघी सम्बन्धी गीत घन्किन थालेको छ ।

Leave A Reply

Your email address will not be published.